यू-१९ एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
खेलमा नेपालले पाँचौ ओभरमा पहिलो विकेट गुमाएको छ। पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे। त्यतिबेला नेपालले ९ रन जोडेको थियो।
समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन्।
यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।
नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ। समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन।
आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ। अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि अहिले भइरहेको छ।
