• Saturday 28th of November 2026

बुढेस कालको साहारा भन्दै ६१ वर्षमा विवाह, श्रीमती हत्या आरोपपछि ….


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा ४३ वर्षीया मायादेवी शाक्यको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेस कालको साहारा बन्ने संकल्पसहित गत वर्ष विजयादशमीका दिन विवाह भएको थियो ।

बुढेस कालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँच दिनदेखि काठमाडौं मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ । उनका पति दानकाजी विगत चार दिनदेखि जगातीस्थित प्रहरी हिरासतमा छन् ।

मृतक शाक्यको बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शव बुझ्न नपाउँदा पीडित भएका छन् । दानकाजीलाई पत्नी हत्याको अभियोग लागेको छ ।

गत आइतबार राति खाना खाएरसँगै सुतेकी मायादेवी बिहान ओछ्यानमै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । सँगै सुतेकी श्रीमतीको राति कति बजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको दानकाजीको दाबी रहेको छ ।

सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घटनाबारे जानकारी गराए पनि खाना खाएर सँगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउँछन् ।

सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुँदैन ? यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले हत्या भएको भक्तबहादुरको दाबी छ ।

मृतकको बहिनी ज्वाई कृष्ण गोसाईले भने, ‘हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्‍यौँ, रिपोर्ट पनि हेर्‍यौँ, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नु भएको छ, हामी न्याय चाहन्छौँ प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउँदैनौँ ।’

मृतकको दाहिने हातको कुममा, दुवै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने उनी बताउँछन् ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले घटना शंकास्पद रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖