काठमाडौं । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई ज्यान सम्बन्धी मुद्दामा अदालतले सफाइ दिएको छ ।
मधेश आन्दोलनताका क्रममा महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा मुद्दा लागेको महतोलाई जलेश्वर जिल्ला अदालतले सफाइ दिएको हो । कोइरीलाई प्रहरीले फरार सूचीमा राखेको थियो ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उहाँलाई सफाइ दिएको हो । २०७२ साल भदौ २५ मा असई विकको हत्या भएको थियो । उहाँको हत्या अभियोगमा २०७५ साउन २८ मा २८ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
सो अभियोगका अभियुक्तहरू प्रदेश सभा सदस्य अभिराम शर्मा, सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई भने अदालतले जन्मकैदको फैसला सुनाएको छ । शर्मा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलको नेता समेत हुनुहुन्छ ।
उक्त मुद्दामा परेका मधेश प्रदेशका पूर्वसांसद कौशल यादवसहित १९ आरोपी फरार छन् । फरारको सन्दर्भमा केही आदेश जारी भएको छैन ।
पुर्पक्षका क्रममा सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् । तीन मध्ये कापरलाई अदालतले सफाइ दिएको छ ।
