• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दश दिने भ्रमणका लागि सांसदहरुको टोली चीन प्रस्थान


  • धनकुटा खबर
  • .

काठमाडौं। संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि आइतबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन्।

नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः५ बजे छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५-५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक-एक जना छन्।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो। चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ।

नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले) बाट दामोदर बैरागी, मानबीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन्।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन्। १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖