• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री किरातीको स्पष्टोक्तिः ‘आत्मालोचना गर्नुपर्ने अवस्था छैन, राजीनामा पनि आउँदैन’


  • धनकुटा खबर
  • .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना र राजीनामा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले धर्मनिरपेक्षता राष्ट्रमा सबै धर्म संस्कृतिलाई एकै फूलबारीमा फूलेको फूलका रुपमा लिनुपर्ने बताए । त्यो फूलबारीमा फूलेको कुनै पनि फूललाई संविधान विरोधीले मात्रै अस्वीकार गर्ने उनको टिप्पणी छ ।

सबै धर्मको सम्मान गर्नुपर्ने बताउँदै उनले अर्को धर्मलाई स्वीकार नगर्नेहरू संविधान विरोधी भएको र संविधान नमान्नेहरु देशद्रोही भएको उनले टिप्पणी गरे । उनले लोकतन्त्रमा सडकमा लाठी घुमाउन पाइने भएपनि अर्काको नाकमा हिर्काउन नपाइने बताए ।

हिजो आफू गएको कार्यक्रमको प्रसंग उल्लेख गर्दै उनले भने, ‘धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिक, फूलबारीमा फुलेको फूल जस्तै हुन्। जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु। संविधान नमान्ने देशद्रोही त हो।’

मन्त्री किरातीले हिजो उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए ।

सो कार्यक्रममा मन्त्री किरातीले भनेका थिए,– ,‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

मन्त्री किरातीको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आचोचना भइरहेको छ । मन्त्री किरातीको अभिव्यक्ति विरुद्ध नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, रास्वपा लगायतका दलका नेताहरु खुलेर मैदानमा उत्रिएका छन् । मन्त्री किरातीको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न धार्मिक संघ संस्थाहरुले आज पशुपति क्षेत्रमा राजीनामा माग्दै प्रशर्दन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖