• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गृह र परराष्ट्रमा मन्त्री साटफेर गर्ने दाहाल–देउवाको तयारी, गृहमा रमेश लेखकको पनि चर्चा


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुन लागेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी थालेका छन्। यसको लागि उनले सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल थालिसकेका छन् । गठबन्धनका शीर्ष नेताहरु सम्मिलित हालैको बैठकमा भने राष्ट्रिय सभाको निर्वाचनअघि मन्त्रिपरिषद् पूनर्गठन गर्न नहुने निश्कर्ष निकालिएको छ ।

प्रधानमन्त्री दाहालले भने मन्त्रिपरिषद् पूनर्गठन गर्नेगरि आफू अघि बढेको कुरा आफ्नो पार्टीका शीर्ष नेताहरुलाई भनिसकेका छन् । मन्त्रिपरिषद् पूनर्गठन हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्री दाहालको चाहना छ । प्रधानमन्त्री दाहालले पछिल्लो समय रास्वपाका सभापति लामिछानेसँग यस विषयमा छलफलसमेत गरेको खुलेको छ ।

तर, लामिछानेले भने अहिलेको अवस्थामा आफ्नो दल सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको उच्च स्रोतको दाबी छ । मन्त्रीहरु हेरफेर गर्ने विषयमा कांग्रेस सभापति देउवाले पनि ग्रिन सिग्नल दिएको चर्चा छ। प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीचको छलफलमा गृह र परराष्ट्र मन्त्रालयमा नेतृत्व साटफेर गर्ने भद्र सहमति बनेको स्रोतको दाबी छ । अहिले गृह मन्त्रालयको नेतृत्व माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरिरहेका छन् ।

परराष्ट्रको नेतृत्वमा कांग्रेसका एनपी साउद छ । श्रेष्ठलाई परराष्ट्रमा ल्याएर साउदलाई गृहमा लैजानेबारे दाहाल र देउवाबीच सहमति बनेको छ । तर, देउवाका विश्वासपात्र रमेश लेखकले पनि गृह मन्त्रालयको नेतृत्वमा जानको लागि कसरत थालेका छन् ।

प्रधानमन्त्री दाहालले भने सञ्चार मन्त्रालयमा पूर्व अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मालाई ल्याउनेगरि छलफल थालेका छन् । अहिले सञ्चार मन्त्रालयको नेतृत्व रेखा शर्माले गरिरहेकी छिन् । f

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖