• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पक्राउ पुर्जी जारी भएपछि फरार भए गण्डकीका सहकारी पूर्वरजिस्ट्रार


  • धनकुटा खबर
  • .

७ पुस, पोखरा । पोखरा-९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका तत्कालीन सहकारी रजिस्टार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

बैंकिङ कसुरमा पक्राउ परेका मित्र मिलन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपसमेत लागेका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीको वयानका आधारमा पराजुलीलाई पक्राउ पुर्जी जारी भएको हो ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रवन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

करिब २ वर्ष प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार रहेका पराजुलीले कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ दिनुपर्दा पनि सहकारीले घाटा बेहोर्नुपरेको उनीहरुले बयान दिएका थिए ।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्राउन चाहेका थिए । तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

२०७९ भदौमा उनी रजिस्ट्रारबाट सरुवा भएर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा गएका थिए । यही मध्य मंसिरमा कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका पराजुलीलाई मेयर रामचन्द्र जोशीले राख्न चाहेका थिएनन् । नगरपालिकामा हाँजिरी भए पनि दुई जनाबीच बोलचालसमेत बन्द भएको कर्मचारीहरु नै बताउँछन् ।

‘उहाँले मेयरबाट रजिस्टर खोसेर हाँजिरी गरेको कुरा थियो । दुई जनाबीच बोलचालै थिएन,’ एक कर्मचारीले भने । उनी ४ दिनअघि परीक्षा दिन काठमाडौं जान भनेर हिँडेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।

यसैगरी तत्कालीन राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा प्रमुख सन्तोष घिमिरेले पनि ४० लाख रुपैयाँ घुस लिएको उनीहरुले बयान दिएका छन् । सहकारी बैंक लिमिटेडबाट ४ करोड ऋण लिँदा ४० लाख रुपैयाँ दिएको बयानपछि घिमिरेलाई पनि पक्राउ पुर्जी जारी भएको छ । अहिले राष्ट्रिय सहकारी बैंक लिमिटेड तनहुँ शाखा प्रमुख रहेका घिमिरे पनि पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

नयाँबजारको मित्रमिलन सहकारीले बचतकर्ताको २६ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीका सञ्चालकले प्रदेशैभरि कार्यक्षेत्र बनाएर रकम उठाउने योजना बनाएको थियो । यसका कसेरी र पुम्दीभुम्दीमा पनि शाखा स्थापना गरिएको थियो ।

मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन् । त्यसमध्ये अध्यक्ष पौडेल र प्रवन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।

पक्राउ पुर्जी जारी भएका पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित २७ जना फरार छन् भने पक्राउ पर्ने ५ जना पुगेका छन् । पक्राउ पर्नेमा पौडेल र अधिकारीसहित सञ्चालक समिति सदस्य गोपाल खनाल, वुद्धिसागर पौडेल र राजु बराल छन् ।

पक्राउ पुर्जी जारी भएर फरार रहेका सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायतको खोजी भइरहेको एसपी थापाले बताए ।

प्रहरीले मित्रमिलन सहकारीविरुद्ध उजुरी भए २७ मंसिरभित्र दिन आग्रह गरेको छ । अहिलेसम्म करिब ८ सय जनाले बचत रकम दाबी गर्दै जाहेरी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖