• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रदेश संरचना नेता पाल्ने र राज्य कोष दोहन गर्ने माध्यम बन्यो : रवि लामिछाने


  • धनकुटा खबर
  • .

७ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन् । शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले प्रदेश संरचना बेढंगको भएको बताए ।

‘प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन । यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ’, लामिछानेले भने ।

प्रदेशले केही नेता र उनीहरुका आफन्तलाई जागिर दिने काम गरेको भन्दै उनले भने, ‘सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चन्छन् तर यसले नतिजा दिँदैन ।’प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ भनेर एक पटक होइन आफूले धेरै पटक भनेको उनको जिकिर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश कार्यालय ।
सुशासनका सन्दर्भमा रास्वपा निर्मम हुनुपर्ने भन्दै लामिछानेले अहिलेको सरकारले जस्तो भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताए ।

‘मैले गल्ती गरेको छु भने कुनै आयोग गठन गर्नुपर्दैन, च्याप समाउने, हालिहाल्ने, प्रमाण जुटाउने’, लामिछानेले भने, ‘जो सुकै होस् । पछिमात्रै हेर्ने, ए मेरै मान्छे परेछ भन्ने ।’

रास्वपाले भ्रष्टाचारीलाई बचायो भने सबैभन्दा पहिले पार्टी सदस्यले आफ्नो सदस्यता च्यातेर खबरदारी गर्नुपर्ने सभापति लामिछानेले बताए ।

‘हामी कसैबाट अपरदर्शी चन्दा लिँदैनौं । व्यापारी साथीहरु हामीसँग कत्ति पनि नआत्तिनुहोला, तपाईंहरुले चन्दा दिनुपर्दैन’, लामिछानेले भने, ‘कसैले रास्वपाबाट चन्दा लिन आएछ भने भन्नुस्, ७२ घन्टा होइन ४० घन्टामा कारबाही गर्छु ।’

रास्वपाले पोखरा जिरो किलोमिटरमा मासिक ३६ हजार रुपैयाँ भाडा तिर्ने गरी गत भदौमा प्रदेश कार्यालयका रुपमा ‘घन्टी घर’ प्रयोग गर्दै आएको थियो । उक्त भवनको शनिबार सभापति लामिछानेले उद्घाटन गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖