• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट,श्रीमान पक्राउ


  • धनकुटा खबर
  • .

१० पुस, सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

‘बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ होममा राखेका छौं, गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका छौं’, सिलवालले अनलाइनखबरसँग भने, ‘उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, शरीरमा निलडामहरु थिए ।’

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो । ‘उजुरी गलत रहेछ कि क्या हो भन्ने भइरहेको थियो, अरु माध्यमबाट बुझ्ने प्रयास गरिरहेका थियौं’, सिलवालले भने, ‘त्यहीबेला उहाँकी दिदी आएर कुटपिट गरिरहेको भनेपछि म आफैं त्यहाँ पुगेको थिएँ ।’

सिन्धुलीका एक प्रहरी अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेतले अदालत परिसरबाटै आफूलाई अपहरण गरेर लगेको उनको भनाइ थियो । ‘मैले काठमाडौं जान्छु भनेर रोइकराइ गर्दा पनि जबरजस्ती भ्यानमा हालेर लगेका थिए’, उनले भनेकी थिइन् ।

प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताउँदै प्रहरीले उनीहरुको विवरण खुलाएको छैन ।

एसपी सिलवाल भन्छन्, ‘अदालतबाट म्याद थप गरेर सबैको विवरण सार्वजनिक गर्छौं, हामी यो विषयमा एकदमै संवेदनशील छौं ।’ स्थानीयका अनुसार, पक्राउ परेकाहरुले शारदालाई सम्बन्ध विच्छेदको मुद्दा फिर्ता गर्न दबाब दिएका थिए ।

‘उनको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्छु भन्ने उनीहरुलाई परेको हुनसक्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘दुई जना छुट्टिएपछि पाइँदैन भनेर दबाब दिएको जस्तो देखिन्छ ।’ एसपी सिलवाल भने त्यसरी निर्घात कुटपिट गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताउँछन् । भन्छन्, ‘पीडित बोल्न सक्ने अवस्थामै हुनुहुन्थेन, अदालतबाट म्याद लिएर अब विस्तृतमा अनुसन्धान गर्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖