काठमाडौं । लामो प्रतीक्षापछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसला नजिक छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दाले सम्भवतः यसै साता अन्दिम फैसला आउनेछ । धेरै पटक विभिन्न बहानामा सर्दै आएको फैसला सुनुवाइ आइतबार जिल्ला अदालतमा सुरु भएको थियो । न्यायाधीश ढकालले कुनै बहाना नखोजी सुनुवाइ थालेर मुद्दालाई हेर्दाहेर्दैमा राखे । यसको अर्थ अब दैनिक सुनुवाइ हुनेछ र ढकालले नै यो मुद्दाको फैसला गर्नेछन् ।
हिजो र आज सार्वजनिक बिदा भएकाले अदालत बन्द रह्यो । बुधबार सुनुवाइले निरन्तरता पाउनेछ । यसअघि नै दुवैतर्फका वकिलहरुले बहस नोट पेश गरिसकेको हुँदा बहस धेरै नलम्बिने अपेक्षा छ । यद्यपि, कानून व्यवसायीहरु धेरै भएकाले अझै कम्तीमा दुई दिन लाग्नसक्ने अदालत स्रोत बताउँछ । यो मुद्दाको फैसलामा जाहेरीकर्ता गौशाला २६ को उमेरलाई सबैभन्दा ‘निर्णायक’ ठानिएको छ । सन्दीपले गौशालामाथि जबरजस्ती सम्बन्ध राखेको कुनै पनि संकेत र प्रमाण नभेटिएको हुँदा उमेर नै प्रधान बन्न गएको हो । कानूनतः यदि जाहेरीकर्ता नाबालिग (१८ वर्षभन्दा कम) भएमा राजीखुशीले राखेको सम्बन्ध पनि बलात्कार ठहरिन सक्छ ।
