• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको मुद्दामा जाहेरवालाको बहस सकिँदै, जवाफी बहसपछि फैसला आउने


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

जाहेरवाला र सरकारी वकिलले आज खाजा समयअघि बहस सक्ने अनुमान गरिएको छ । खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन् । सन्दिपका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने सन्दीपको मुद्दामा फैसला आउने छ ।

पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा सन्दीप उच्च अदालतको आदेशबाट देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने आदेश लिएर थुनामुक्त भएका थिए ।

उच्च अदालतको आदेशविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन गरेका सन्दीपलाई सर्वोच्चले अनुमति लिएर विदेश समेत खेल्न जान पाउनेगरी आदेश गरेपछि उनी खेल जीवनमा नियमित छन् ।

सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम सुनुवाइ भन्दै इजलास तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । यसअघि कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजालासले मंसिर २२ भित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढेपनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहसनोट आइसकेकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖