काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गतेमा नयाँ तरिकाले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै २०३३ साल पुस १६ गते स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।
कांग्रेसले आगामी सोमबार काठमाडौंको प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नारा बनाएको हो ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘२०३३ पुस १६ मा बिपी राष्ट्र र राष्ट्रियताका लागि राजासँगै मिलेर काम गर्छु भनेर आउनु भयो । सोही दिन हामीले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउनका लागि दलहरुका बिचमा मेलमिलाप गर्ने उद्देश्यक राखेका छौं ।’
पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुने तय भएको विश्वकर्माले बताए । कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेछन् ।
विस्तृत शान्ति सम्झौता र संविधान कार्यान्वयनका पक्षधर दलका बिचमा अहिले मेलमिलाप आवश्यक रहेको कांग्रेसको निष्कर्ष रहेको विश्वकर्माले बताए । बुधबार कांग्रेस सभापति देउवाले चार दलका अध्यक्षलाई फोन गरेर अनौपचारिक निम्तो दिसकेका छन् । आज कांग्रेसले उनीहरुलाई कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रुपमा पत्र नै पठाउँदै छ ।
विश्वशर्माले भने, ‘हिजो फोनमार्फत सभापतिज्यूले निम्तो दिनु भएको छ । आज पार्टीले औपचारिक रुपमा पत्र ठाउँछ ।’ यसअघि कांग्रेसले मेलमिलाप दिवस आन्तरिक रुपमा मात्र गर्दै आएका थियो । गत वर्ष देशभर केन्द्रीय प्रतिनिधि खटाइए हरेक जिल्लामा दिवस मनाएको थियो ।
