काठमाडौँ । उपभोग्य बजारको शिथिलता, व्यक्तिको आय स्रोत (क्रयशक्ति) नै कमजोर बनिरहेका बेला सरकार समेत यतिबेला बजेट घाटामा चलिरहेको छ । यस्तो अवस्थामा मुलुक आर्थिक मन्दीमा जाँदै गरेको र सरकार टांट पल्टिन लागेको हल्ला चल्ने गरेको छ । तर, वास्तविकता के हो त ? सरकारसँग कति छ त पैसा ?
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक रिपोर्ट अनुसार मंसिर मसान्तसम्ममा सरकारसँग १ खर्ब ६० अर्ब २४ करोड ७६ लाख रुपैयाँ क्यास (नगद) रहेको छ । यो स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको समेत गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेको डिपोजिट हो ।
२०८० असार मसान्तसम्ममा यस्तो डिपोजिट जम्मा ४५ अर्ब ८ करोड ९४ लाख ४७ हजार रुपैयाँ मात्र रहेको थियो । साथै, अघिल्लो आर्थिक वर्षबाट २५ अर्ब रुपैयाँ बराबरको सरप्लस (मौज्दात) समेत आएको केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्गत ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ हाराहारी र अन्य कोषहरु बापत १ अर्ब ७० करोड ९ लाख रुपैयाँ बराबरको सम्पत्ति कोष समेत रहेको बैंकले जनाएको छ ।
