• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री प्रकाश ज्वालाको घमण्डले निम्त्याएको थियो बालकुमारीमा झडप, प्रदर्शनकारिलाई झम्टिएका थिए


  • धनकुटा खबर
  • .

ललितपुरको बालकुमारीमा १३ पुसमा दुई युवाकाे ज्यान जाने गरी प्रहरीले गरेकाे दमनकाे पछाडि भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे गम्भीर सुरक्षा चुनाैती अस्वीकार एक मुख्य कारण रहेकाे पाइएकाे छ । मन्त्रीले आफ्ना सुरक्षाकर्मीकाे सुझाव नमानी बलमिच्याइँ गर्दा बालकुमारीमा उनकाे गाडी मात्र जलेन, दुई जनाले अनाहकमा ज्यानसमेत गुमाउनुपर्‍यो ।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) मा सीप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाहरूले शुक्रबार ईपीएस शाखा कार्यालय ग्वार्काेनजिक आन्दोलन गर्ने गरिरहेका थिए । युवाहरू बिहीबारैदेखि शाखाबाहिर पुगेर आन्दोलन गरिरहेका थिए । साे क्षेत्रमा बिहीबारदेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो । शुक्रबार पनि सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा अधिकारी बताउँछन् । साेही कारण बाक्लै संख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।

शुक्रबारै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । बैठकमा सहभागी मन्त्री प्रकाश ज्वाला बैठक चलिरहेको अवस्थामा नै काम छ भनेर बैठकबाट निस्के । गाडीमा बसेपछि पीएसओलाई बाटोको अवस्था कस्तो छ भनेर बुझ्न लगाए । पीएसओले कान्तिपुरबाट बाहिर सडकमा निस्कने मुख्य सडक असुरक्षित भएकाले अर्को बाटो जानुपर्ने जानकारी गराए । तर, मन्त्री ज्वालाले नै जबर्जस्ती त्यही बाटो बाहिर निस्कन दबाब दिएको सुरक्षा स्राेतले बताएकाे छ ।

स्राेतले भन्याे, ‘कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि बाटो कस्तो छ भनेर सोध्न भन्नुभयो (ज्वालाले) । सुरक्षा अधिकारीले ‘होइन हजुर, यो बाटो खतरा छ, जानु हुँदैन’ भन्यो । तर, मन्त्री ज्वालाले हतियारधारी दुई जना भएर पनि मुटु छैन ? मुटु हुनुपर्छ भन्दै गाडी निकाल्न भन्नुभएछ ।’

मन्त्रीका लागि दुई जना सुरक्षाकर्मी अंगरक्षक दिइएकाे हुन्छ । एक जना नेपाली सेनाको र अर्को प्रहरीका सई व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) हुन्छन् । मन्त्री ज्वालाले यी दुवै सुरक्षाकर्मीलाई मुटु नभएको भन्दै अघि बढाउन निर्देशन दिएका हुन् । ज्वालाका पीएसओ सई बाेधराज दनुवारलाई याे घटनापछि सरकारले निलम्बन गरिसकेकाे छ ।

पीएसओले भीआईपीकाे सवारी सुरक्षा कन्ट्राेल हेर्ने नेपाल प्रहरीकाे गुराँस कन्ट्राेलमा भीआईपीकाे सवारी रुटबारे पनि जानकारी दिनुपर्ने र सुरक्षा अवस्थाबारे निश्चित हुनुपर्ने हुन्छ । त्याे दिन याे प्रक्रिया पनि पूरा नभएकाे देखिएकाे छ ।

आन्दोलनकारी भएको ठाउँमा मन्त्रीले गाडी निकाल्न लगाएपछि घटना भएको सुरक्षा अधिकारीकाे प्रारम्भिक निष्कर्ष छ । जबकि पीएसओले खतरा रहेको बताए पनि मन्त्री ज्वालाको जोडबलमा गाडी त्यही बाटाे निकालिएकाे थियाे ।

एक सुरक्षा अधिकारीले भने, ‘सुरक्षा खतरा छ भन्दाभन्दै जबर्जस्ती गाडी त्यही बाटाे मूल सडकमा निकाल्न लगाउनु गलत भयो । वैकल्पिक बाटाे प्रयाेग गरेकाे भए घटना हुँदैनथ्याे । सुरक्षा संवेदनशीलता बेवास्ता गरेर मन्त्रीले दम्भ देखाउँदा यस्ताे घटना हुन पुग्याे ।’

जब मन्त्री ज्वाला सवार गाडी कान्तिपुर पार्टी प्यालेसबाट आन्दोलनकारीनजिक पुग्यो, आन्दोलनकारीले गाडी घेरे । गाडीको हावा फुस्काएर आगो लगाइदिए । आन्दोलनकारीले मन्त्री ज्वालालाई धकेलेपछी मन्त्रि झम्टिएकाे भिडियाे भाइरल भएकाे छ ।

मन्त्रीकाे गाडी जलाएपछि उत्तेजित भएकाे प्रहरीले अत्यधिक बल प्रयाेग गर्दा दुई जना युवाले ज्यान गुमाउनुपर्‍याे । दैलेखका २३ वर्षीय सुजन रावत प्रहरीकाे कुटाइबाट मारिए भने अछामका २२ वर्षीय वीरेन्द्र शाहकाे गाेली लागेर मृत्यु भयाे ।

दुई जनाकाे मृत्यु र मन्त्रीकाे गाडी जलेपछि सरकारले मन्त्रीका पीएसओ, त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) र ईपीएस शाखाका प्रमुखलाई निलम्बन गरेकाे छ भने ललितपुरका सीडीओ र ललितपुर प्रहरी परिसरका एसएसपीलाई जिम्मेवारीमुक्त गरेकाे छ ।

प्रहरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीकाे चाैतर्फी आलाेचना भइरहँदा अवस्था संवेदनशील भएको जानकारी हुँदाहुँदै जबर्जस्ती गर्ने मन्त्री प्रकाश ज्वाला भने विवादबाट टाढा नै छन् ।

‘काम छ’ भनेर निस्केका ज्वाला घटना घटिसकेपछि सुरक्षाकर्मीले उद्धार गरेर उनको पार्टीको बैठक चलिरहेको कान्तिपुर पार्टी प्यालेसमा पुर्‍याइदिएकाे थियाे । त्यसपछि ज्वाला ५ बजेसम्म बैठकमै बसेको सहभागी नेताले बताए । ती नेताले भने, ‘बाहिर घटना घटेपछि मन्त्री बैठकमा पुग्नुभयो । बाहिर मेरो गाडी जलाइयो । कोही पनि बाहिर नजान भन्नुभयो । साेही तनावका कारण केही साथी बैठकमा सहभागी हुन पाउनु भएन ।’

तर, मन्त्री ज्वाला भने आफूले सुरक्षाकर्मीलाई कुनै दबाब नदिएकाे दाबी गर्छन् । उनले शिलापत्रसँग भने, ‘बाटोकाे अवस्था के कस्तो छ भन्नेबारेमा मन्त्रीले बुझ्ने कुरा भएन । उनीहरू (पीएसओ)ले मलाई त्यस्तो केही भनेका थिएनन् ।’ सुरक्षा अवस्था बुझेर काम गर्ने कुरा त सुरक्षाकर्मीकै भएको उनी बताउँछन् ।

शुक्रबार गाडी जलेपछि र दुई जनाकाे मृत्यु भएपछि पार्टीकाे बैठक चलिरहेकाे कान्तिपुर पार्टी प्यालेसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै याे आन्दाेलनसँग आफ्नाे र मन्त्रालयकाे कुनै चासाे नभएकाे बताएका थिए । उनले आफूसँग याे विषयकाे कुनै सम्बन्धसमेत नरहेकाे भन्दै गाडी जलाउनु खेदजनक भएकाे बताएका थिए । दुई जनाकाे मृत्युकाे विषयबारे आफू त्यति जानकार पनि नभएकाे बताएका थिए ।

नेपाल प्रहरीका एक जना उच्च सुरक्षा अधिकारीले भने पीएसओले मन्त्रीलाई राेक्न सक्ने बताए । उनले भने, ‘मन्त्री सुरक्षाविज्ञ हाेइन, पीएसओलाई निर्णय लिने अधिकार हुन्छ । यस्ताे बेला पीएसओले नै मन्त्रीलाई राेक्न सक्नुपर्छ ।’

आन्दोलनको कारण
दक्षिण कोरियाले नेपालबाट सन् २००८ बाट ईपीएस प्रणालीमार्फत खासगरी उत्पादनमूलक तथा कृषि क्षेत्रमा हरेक वर्ष श्रमिकहरू लैजाँदै आएको छ । यो वर्ष (२०२३)बाट सीप बिल्डिङमा पनि श्रमिक लैजान प्रक्रिया थालेको छ । सन् २०२३ का लागि २०८० साल साउन १४ गते सीप बिल्डिङका लागि कोरियाले आवेदन खुलाएको थियो । त्यसमा ३२ हजार जनाको आवेदन परेको ईपीएस शाखाले जनाएकाे छ ।

ईपीएस शाखाले साउन १५ गते नै २०२३ मा अन्य क्षेत्रतर्फ कोरियन भाषा परीक्षामा सामेल भएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि फेरि आवेदन दिन नपाउने भन्दै सूचना निकालेको ईपीएस शाखाका शाखा अधिकृत कमलराज श्रेष्ठले बताए । उनले भने, ‘सीप बिल्डिङका लागि आवेदन खुल्दा नै एक क्षेत्रमा आवदेन दिएकाले त्यही वर्ष अर्को क्षेत्रमा आवेदन खुलेमा दिन नपाइने भनेर सूचना नै निकालेको थियो । उक्त कुरा मानेर उहाँहरूले आवेदन दिनुभएको थियो । उनुत्तीर्ण हुनेहरूले अहिले कृषि र उत्पादन क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भनेर आन्दोलन गरिराख्नुभएको थियो ।’

कोरियाले उत्पादन क्षेत्रतर्फ लैजाने श्रमिकका लागि यही पुस २ गते आवेदन खुलाएको थियो, जसमा एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका छन् ।

उत्पादन क्षेत्रतर्फमा आवेदन दिन नपाएको भन्दै सीप बिल्डिङ परीक्षामा सामेल भएर अनुत्तीर्ण भएकामध्येका १८ जनाले उच्च अदालत पाटमा रिट हालेका थिए । उच्च अदालत पाटनले पुस ५ गते रिट दायर गर्ने १८ जनालाई उत्पादन क्षेत्रमा रोजगारीका लागि परीक्षा आवेदनमा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशअनुसार १८ जनालाई ईपीएस शाखाले बिहीबार सूचना जारी गरी शुक्रबार कार्यालयमा आई परीक्षा आवेदन भर्न बोलाएको श्रेष्ठ बताउँछन् । तर, त्यो दिन १८ जना मात्र होइन, धेरै युवाहरू शाखामा पुगे । धेरै युवाहरू उपस्थित भएपछि बोलाएका १८ जनाले पनि आवेदन दिन पाएका थिएनन् ।

मन्त्री ज्वालाको गाडीमा आक्रोशित युवाहरूको भिडले आगो लगाइदिएपछि ललितपुरको बालकुमारी क्षेत्र शुक्रबार दिनभरि तनावग्रस्त मात्र बनेन, दुई जना युवाहरूले ज्यान नै गुमाए ।

दुई जना युवाकाे मृत्यु भएकाे केही घण्टाभित्रै उच्च अदालत पाटनकाे अर्काे आदेश आयाे, जसमा सीप बिल्डिङमा सहभागी भएका सबैले आवेदन दिन पाउने भनियाे । त्यसै दिन ईपीएस शाखाले एक सूचना जारी गर्दै यही १६ पुसदेखि १८ पुससम्मकाे समय दिएर उनीहरूलाई आवेदन दिन भनेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖