• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रविलाई गृहमन्त्रीको जवाफ : पहिला गरेको गल्तीमा छुट पाएपनि अब हुन्न


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सवाल–जवाफ भएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुबिच चर्को सवाल-जवाफ भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानले गृहमन्त्री श्रेष्ठमाथि विषय बाहिर गएर प्रश्न उठाएका थिए ।

बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सुन तस्करी प्रकरणको प्रसंग उठाएर लामिछाने गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए । सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ जोगाउन लागि परेको लामिछानेको आरोप थियो ।

गृहमन्त्री श्रेष्ठले उक्त आरोप प्रमाणित गर्न लामिछानेलाई चुनौती दिए । साथै प्रतिशोधको प्रश्नमा पनि गृहमन्त्री श्रेष्ठले लामिछानेलाई जवाफ दिएका छन् । ‘म धेरै त भन्दिनँ । रियाक्टिभ हुने बानी पनि छैन,’ श्रेष्ठले भने, ‘तर प्रिएक्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?’

सहकारी ठगी प्रकरणमा आफूमाथि छानबिन गर्न गृहमन्त्रीले श्रेष्ठले निर्देशन दिएपछि लामिछाने आक्रोशित देखिन्छन् । सहकारी ठगी प्रकरणमा आफू फस्ने डरले लामिछानेले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय थियो । ‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई,’ उनले अघि भने ।

राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न ।’

प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले भने– ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ । त्यसो गरे त हुँदैन नि ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖