• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटना देखिए जस्तो मात्र छैन : प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताएका छन् ।

मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना पूर्वानुमान गर्नसक्ने खालको नभएको बताए । पूर्वनिर्धारित कार्यक्रममा दोलखा पुगेर फर्किने क्रममा थाहा पाएको र भोलिपल्ट ब्रिफिङ लिएपछि आफूलाई उक्त घटना केही गम्भीर लागेको उनले सुनाए ।

‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो जस्तो गतिविधि भएको छ’ उनले भने, ‘चिज यस्तो छैन, जस्तो देखिएको छ । यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु ।’

आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए । त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।

सरकारले गर्नसक्ने कामहरु तुरुन्त गरेको भन्दै उनले केही गलत भाष्य बनिरहेको बताए । जनतालाई निराशा बाँड्ने राष्ट्रवादी हुनसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गर्न आँट गर्नुपर्ने बताए ।

सरकारलाई प्रभावकारी बनाउन आफैंले केही नयाँ गर्छु भनेर सुरु मात्र गरेको भन्दै उनले सहयोगको अपेक्षा गरेको बताए । ‘राम्रो कामको ओनरसिप लिन डराउन पनि भएन’, आफूले केही जोखिम उठाएर यो वातावरण बनाएको भन्दै उनले भने, ‘प्रचण्ड, सानो पार्टीको नेता केके कताकताबाट प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेका राम्रा कामको स्वामित्व दिन डराइदिन भएन ।’

सामाजिक न्याय, अन्तर्राष्ट्रिय सम्बन्धमा केही मानकहरु खडा गरेको भन्दै उनले यसको स्वामित्व लिन कसैले अठ्यारो मान्नु नपार्ने बताए । साथै जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भनेर आफैंले स्वीकार गरेको भन्दै प्रचण्डले जनताले दुःख परेको बेला तुरुन्तै सम्बोधनको प्रयास गरेको बताए । जाजरकोट भूकम्प, इजलायलबाट नेपालीहरुको उद्दारमा सरकारले गरेको कामको स्वामित्व लिएर जनतालाई सुसूचित गरिदिनुपर्ने प्रचण्डले बताए ।

एमालेलाई तीन वटा संसदीय समितिको सभापति दिने र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘हामी तीन जना बेला बेला बस्ने गरेका छौं शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖