• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री प्रकाश ज्वालाको उन्मादले निम्तिएको बालकुमारी घटना


  • धनकुटा खबर
  • .

काठमाडौं। कोरियन भाषा परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरुको भीडमा झण्डावाल गाडी हल्लाउँदै पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालको असंयमित कार्यले शुक्रबार दुई युवाको ज्यान जानेगरी दुखद् घटना घटेको छ।

मन्त्री ज्वालाले शुक्रबार आका्रेशीत कोरियन भाषा परीक्षामा सहभागी हुन नपाएका युवाहरुको भीडलाई थप उत्तेजित बनाउन घटनास्थलमा पुगेपछि परिस्थिति असहज भएको भिडियो अहिले सार्वजनिक भएको छ।

एक झुठलाई मेट्न हजारौं भुठ बोल्नुपर्छ भनेझै मन्त्री ज्वालाले आफ्नो गाडीमा आगजनी हु्ने क्रममा आफू घटनास्थलमा उपस्थित नरहेको सञ्चारमाध्यममा बताएका थिए। उनले सिंहदरबारबाट निस्किएर ग्वार्कोस्थित कान्तिपुर पार्टी प्यालेसमा जारी पार्टीको बैठकमा आफूलाई छाडेर गाडी फर्किने क्रममा युवाहरुले आगलागी गरेको बताएका थिए।

जबकि उनी सवार गाडी जल्नुअघि घटनास्थलको सार्वजनिक भिडियोमा ज्वालाले आक्रोशित युवाहरुसँग सवाल जवाफ गरेको प्रष्टै देखिन्छ। तर उनले आफू गाडीमा नरहेको सफेद झुठ मिडियामा दिएका छन्।

उनको असंयमित कार्यले दुई जना युवाको ज्यान जानेगरी प्रहरीले अत्यधिक बाल प्रयोग गर्न बाध्य भएको सोमबार राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले स्पष्टीकरण दिइसकेका छन्।

गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको उपस्थितिले उक्त घटना निम्तिएको बताइसकेका छन्। मन्त्री अन्य रुट प्रयोग गरेर गन्तव्यस्थलमा गएको भए अनाहकमा दुई युवाले ज्यान गुमाउने अप्रिय अबस्था सिर्जना नहुने सुरक्षा निकायका प्रमुखहरुले औंल्याएका छन्।

यस अघि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानी जहाज बनाउने कम्पनीका लागि आवेदन दिएका युवाहरुलाईे अन्य उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने सूचना ईपीएस शाखाले जारी गरेको थियो।

ईपीएस शाखाको सोही निर्णयविरुद्ध उच्च अदालत पाटनमा निवदेन दिएका १८ जना युवाहरुलाई मात्रै परीक्षामा सहभागी गराउने र बाँकी सामेल हुन नपाउने भएपछि युवाहरुले आन्दोलन थालेका थिए।

सोही दिन ईपीएस परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरुको भीडमा मन्त्री ज्वालाको प्रवेशले नै परिस्थिति असहज भएको घटनाक्रमले पुष्टि गरेको छ।
अहिले सरकार चौतर्फी विवाद र आलोचित बनेको बालकुमारी घटनाको उपज मन्त्री ज्वाला रहेको तथ्य उजागर हुँदा पनि उनले राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका छैनन्। बरु आफ्नो बचाउमा सफेद झुठ बोल्दै घतनास्थलमा नरहेको कुप्रचार गरिरहेका छन्।

यस प्रकरणमा कमजोरी देखिएकाले मन्त्रीको सुरक्षागार्डका रुपमा रहेका पिएसओ र फिल्डमा खटिएका ललितपुरका डिएसपी निलम्बन गर्ने सरकारले निर्णय गरेको छ। तर मन्त्री ज्वालबारे कुनै कदम चाल्न सकेको छैन।

ज्वालाको दल एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालले उनको बचाउमा अभिव्यक्ति दिइरहेका छन्। उनले आन्दोलन बारे जानकारी नपाउँदा मन्त्री ज्वाला घटनास्थलमा पुगेको भन्दै बचाउमा उत्रिएका छन्।

मन्त्री ज्वालसँग रहेका दुई सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी वहन गर्न असक्षम भएको प्रमाणित भएको छ। उनीहरुले परिस्थितिको अन्दाज गरी अन्य क्षेत्रबाट सहजै सवारी लगेको भए मुडभेडको अवस्था नआएर उक्त अवस्थाले पार पाउन सक्थ्यो।

उनीहरुले आक्रोशीत युवाहरुको भीडलाई अवज्ञा गर्दै मन्त्रीको प्रवेशले निम्त्याउने सम्भावित जोखिमलाई नजरअन्दाज गर्दै घटनास्थलबाटै सवारी लैजाने दुस्साहस गरेका छन्।

यद्यपि ज्वालाका सुरक्षार्थ खटिएका निजी सुरक्षाकर्मीले अर्को रुट प्रयोग गरेर बाहिरिन आग्रह गर्दा ज्वालाकै जबैजस्ती र उन्मादले सोही क्षेत्रबाट सवारी लगिएको बताइन्छ।

प्रहरीको अधिक बल प्रयोगले दुई युवाहरुको निधन र मन्त्री सवार गाडीमा आगजनीको उपज ज्वालाको अस्वभाविक आगमनका कारण भएको सुरक्षा अधिकारीहरुले बताइरहेका छन्।

पछिल्लो सार्वजनिक घटनाक्रमअनुसार मन्त्रीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रहरीसँगको समन्वयमा अर्को रुट प्रयोग गरी मन्त्रीको सहज आवागमन गराउन सक्ने पर्याप्त विकल्प हुँदाहुँदै आक्रोशित युवाहरुको भीड जर्बजस्ती छिचाल्ने ज्वालाको मनोमानीले नै बालकुमारीमा मानवीय र भौतिक क्षति भएको हो।

मन्त्री ज्वालाको हठ र उन्मादले बालकुमारी घटना घटेको चर्चा भइरहँदा उनी मौनता साँधेर प्रतिक्रियाविहीन देखिएका छन् । घटना घटेलगत्तै आफ्नो बचाउमा भुठको खेती गरेका ज्वाला अहिले मन्त्री पद बचाउमा गठबन्धनका शीर्ष नेताहरु धाउन थालेको चर्चा चुलिएको छ।

मन्त्री ज्वालाको अघोषित बचाउमा उत्रिएका प्रधानमन्त्री दाहालले उक्त घटना गणतन्त्र विरोधीको डिजाइनमा भएको फगत भुठ समेत बोल्न थालेका छन्।
सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कांग्रेसको मेलमिलाप दिवसको अवसरमा प्रधानमत्ती दाहालले गणतन्त्र विरोधी र अन्य कुत्सित मनशायबाट अभिप्रेरितहरुले योजनाबद्ध रुपमा घटना घटाएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

जबकि सार्वजनिक भिडियोमा मन्त्री ज्वाला र आक्रोशित युवाहरुको बीचमा भएको धकेलाधकेल र मन्त्रीको अटेरीपपनले परिस्थिति प्रतिकूल भएर दुखद् घटना घटेको सार्वजनिक भइसकेको छ।

सुशासनको अभियान सुरु गरको बताउने वर्तमान दाहाल सरकारले दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा प्रमुख भूमिका रहेका ज्वालाप्रति नरम देखिएको छ। व्यवस्था विरोधीहरुको हर्कतको उपमा दिँदै मन्त्रीको अस्वभाविक हर्कतको उपज निम्तिएको अप्रिय घटनालाई विषयान्तर गर्ने दाउमा दाहाल लागेका छन्।

घटनाका मुख्य भागीदार रहेका अराजक मन्त्री ज्वालाको सनकी रवैयाले दुई विपन्न परिवारको सहारा उजाडिएको छ। कोरिया जाने सपना बुनेका सामान्य आर्थिक अवस्थाका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको परिवार यतिबेला मर्माहत बनेको छ।

मन्त्री ज्वालाको उद्दण्डताले सिर्जित परिस्थितिको जिम्मेवारी उनले लिनुपर्छ। अनुसन्धानको दायरामा ल्याएर उनकै अराजकताको कारण भएको धनजनको क्षतिस्वरुप दण्डित गरिनुपर्छ।

यस घटनाको मुख्य कारक उनी रहेको सार्वजनिक हुँदा पनि सरकारले मन्त्री पदमा विराजमान गराएर सरकारले पीडित परिवारलाई थप आक्रान्त बनाउँदै कानूनीराजको खिल्लि उडाएको छ।

परिस्थितिलाई साम्य बनाउने भन्दा आक्रोशित युवाहरुको भीडमा पुगेर वातावरण थप उत्तेजित बनाएर भौतिक र मानवीय क्षतिको अवस्था उत्पन्न गराएका मन्त्री ज्वालाको आपराधिक कार्य कुनै हालतमा क्षम्य हुन सक्दैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖