• Thursday 8th of October 2026

सन्दीपले राष्ट्रिय टोलीबाट खेल्न नपाउने


  • धनकुटा खबर
  • .

काठमाडौ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेसँगै लेग स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । अदालतको फैसलापछि सन्दीप राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्न नपाउने नेपाल क्रिकेट संघका उच्च अधिकारीले बताएका छन् ।

‘अहिले क्यानले निर्णय सुनाएको छैन, तर अदालतले दोषी ठहराएका व्यक्ति स्वतः नै निलम्बनमा परेबराबर हो,’ क्यानका ती अधिकारीले भने, ‘नैतिकताका आधारमा पनि उनी बाहिर रहनुपर्छ ।’ जिल्ला अदालतले गत शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो ।

२५ पुसमा काठमाडौं जिल्ला अदालतले उनको सजायसम्बन्धी फैसला तोक्नेछ । यद्यपि, सन्दीपले फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् । उनले कम्तीमा ७ देखी १० वर्षको जेल सजायको सामना गर्नुपर्ने हुन्छ । अदालतको निर्णयसँगै उनले वीरगन्जमा चलेको पहिलो संस्करणको प्रो लिग क्लब टी– २० च्याम्पियनसिपको फाइनल खेलेनन् । अदालतले फैसला गरेको दिन नै उनले आफ्नो नेतृत्वमा रहेको पर्सा– ११ लाई फाइनलमा पुर्‍याएका थिए । शनिबार भएको फाइनलमा सन्दीपले खेलेनन् । जसमा पर्सा– ११ नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

जिल्ला अदालतको फैसलापछि सन्दीपले नैतिकता र कानुनी रूपमा खेल्न नमिल्ने क्यानका वरिष्ठ सदस्यले नयाँ पत्रिकालाई बताएका छन् । ‘यसअघिसम्म उनीमाथि आरोप मात्र लगाइएको थियो, तर अहिले दोषी ठहर भइसकेका छन् जसका कारण नैतिकताका आधारमा पनि राष्ट्रिय टोलीबाट खेल्न मिल्दैन,’ उनले भने, ‘स्वयं सन्दीपले यसको उदाहरणका रूपमा वीरगन्जमा भएको प्रो लिगमा देखाएका थिए ।’ क्यान अब कानुनअनुसार चल्नुपर्ने उनले बताए । ‘क्यान पनि कानुनअनुसार चल्नुपर्छ, अदालतले उनलाई दोषी नै ठहराएपछि क्यानले पनि स्पष्ट धारणा राख्नुपर्छ,’ उनले भने ।

अदालतमा मुद्दा चलिरहे पनि सन्दीप धरौटीका आधारमा राष्ट्रिय टोलीमा खेल्दै आइरहेका थिए । जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेसी चलेको थियो । पेसी सरिरहेका कारण नै उनले राष्ट्रिय टोलीबाट खेल्न अवसर पाएको क्यानका ती वरिष्ठ सदस्यले बताए । ‘यसअघिसम्म पेसी सरेको थियो, यसैकारण सन्दीपले राष्ट्रिय टोलीमा मौका पाए, तर अब ठोषी भइसकेका छन्,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖