सत्तारुढ कांग्रेस र माओवादी एमालेलाई पनि राष्ट्रिय सभामा सीट दिएर जान लचक भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन नजिकिएपछि सत्तारुढ दल कांग्रेस र माओवादीले भागबण्डाको विषयमा छलफल गरिरहेका छन् । यही छलफलका क्रममा एमालेलाई पनि मिलाएर जाने विषयमा छलफल भएको हो ।
यसका लागि दिउँसो तीन बजे सत्ता गठबन्धनको छलफलपछि ५ बजे एमालेसहितको बैठक बोलाइएको जानकारी एक नेताले दिए । ‘सत्ता गठबन्धनबीच मात्रै राष्ट्रिय सभाको सीट बाँड्ने तयारी भएको सुनेका थियौं । तर, पछिल्लो दुई दिनयताका भेटघाटले एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जाने विषयमा कांग्रेस र माओवादी लचक भएको बुझेका छौं,’ कांग्रेसका एक नेताले भने, ‘यसैले आज दिउँसो सत्ता गठबन्धन दलबीच पहिले छलफल गर्ने र त्यसपछि एमालेसँग पनि छलफल गर्ने बुझेका छौं ।’
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले मिलेर जाने भए आफू तयार रहेको बताएको कांग्रेसका एक नेताले बताए ।
तीनैजना नेताले मिलेर जाने विषयमा छलफल गर्नुभएको बुझेका छौं । यसमा ओलीजीले पनि मिल्ने भए मिलौं भन्नु भयो भन्ने सुनेका छौं,’ ती नेताले भने ।
एमाले निकट स्रोतले राष्ट्रिय सभामा एमालेले भाग पाउने पक्का नभए पनि छलफल भएको जानकारी दिए ।
‘बाहिर आएजस्तै प्रष्ट भागबण्डा भइससकेको छैन । तर शान्ति प्रक्रिया टुंग्याउनेसहितका विषयमा निरन्तर छलफल भइरहेको छ । यही बेला राष्ट्रिय सभाको निर्वाचन पनि भएकाले यो विषयमा पनि कुराकानी भएको हो,’ एमाले निकट स्रोतले भन्यो ।
यसअघि राष्ट्रिय सभाका २० सीटमा कांग्रेसले एक मनोनीतसहित १०, माओवादीले ६, नेकपा एसले ३ र जसपाले एक सीट लिने मोटामोटी सहमति भएको थियो । तर, सहमतिमा एमालेलाई पनि दुई/तीन सीट दिए गठबन्धन दलकै भागबाट कट्टा हुने देखिएको छ ।
गठबन्धनका लोसपा, नागरिक उन्मुक्ति र जनमतले पनि राष्ट्रिय सभामा सीट दाबी गरेका छन् । सत्ता गठबन्धन एक ठाउँमा उभिँदा एमाले राष्ट्रिय सभाका १९ वटै (मनोनीत १ बाहेक) पदमा उठे पनि पराजित हुने अवस्था छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनः सहभागी भएका थिए ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।
