काठमाडौं: नयाँ प्रहरी ऐन ल्याउने तयारीमा गृह मन्त्रालय लागेको छ । नयाँ ऐनमा प्रहरीको उमेरको सेवाहद, भर्नाको उमेर, बढुवाका प्रावधानसम्बन्धी विषयमा पनि छलफल भइरहेको छ ।
ऐनको विषयमा गृहले छलफललाई तीव्रता दिएको हो ।
हाल प्रहरीमा उमेर, पदावधि र सेवा अवधि गरेर तीन प्रकारले अवकाश दिइन्छ । जसकारण ५०–५२ वर्षकै उमेरमा प्रहरी अधिकारीले अवकाश पाउँछन् ।
त्यस्तै तल्लो दर्जाका अधिकारीहरूको लागि १६ वर्षे अवधि कायम गर्न पनि यस ऐनमा व्यवस्था गर्नुपर्ने माग छ।
अनुभवी प्रहरी अधिकारीलाई छिट्टै अवकाश दिनुपर्ने र यसले सरकारको खर्च पनि बढेको भन्दै यो हटाउनुपर्ने आवाज प्रहरीमा उठ्दै आएको छ । तर, केही प्रहरी अधिकारीको व्यक्तिगत स्वार्थमा सेवाहद हट्न सकेको छैन ।
त्यस्तै, प्रदेश सरकारहरूले प्रहरी समायोजनका लागि ताकेता गरेपछि गृह मन्त्रालय नयाँ प्रहरी ऐन ल्याउने तयारीमा लागेको हो ।
प्रदेश प्रहरी ऐन बनाइसक्दा पनि संघीय प्रहरी ऐन जारी नहुँदा प्रहरी समायोजन रोकिएपछि प्रदेश सरकारहरूले संघ सरकारलाई दबाब दिँदै आएका छन् ।
तीन साताअघि सातै प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजनका लागि एक महिनाको समय दिँदै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
अहिले सरकारले अध्यादेशबाट भए पनि संघीय प्रहरी ऐन ल्याउनेबारे छलफल थालेको छ ।
गत बिहीबार गृह मन्त्रालयमा र शुक्रबार प्रहरी प्रधान कार्यालयमा प्रहरी समायोजन र नयाँ प्रहरी ऐनबारे विस्तृत छलफल भएको गृह स्रोतले जानकारी दिएको छ ।
