काठमाडौँ। प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका छन् ।
शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन रद्द गरेर नयाँ सच्याएर नयाँ सूचना जारी गर्न निर्देशन दिएका हुन् ।
प्रचण्डले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रवार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शुक्रवार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) हुनुपर्ने मापदण्ड राखिएको थियो । तर, त्यसमा प्रधानमन्त्रीले असन्तुष्टि राख्दै तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन् ।
त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने प्रधानमन्त्रीको भनाइ छ । सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन हुने समेत बताएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पनि चर्चा चलेको थियो । तर, शुक्रवार प्रकाशित विज्ञापनको प्रावधानले भट्टराईको त्रिवि प्रवेश गर्ने बाटो बन्द हुने देखिएको थियो । भट्टराईले त्रिवि हाँक्न चाहेको यसअघि सार्वजनिक भएको थियो । प्रधानमन्त्रीको निर्देशनअनुसार सूचना जारी भएमा भट्टराईलाई पुनः त्रिवि प्रवेशको बाटो खुला हुनेछ ।
