सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएको युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेको छ ।
बरहथवा नगरपालिकाले बरहथवा– ६ मा रहेको प्राथमिक नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेपछि बरहथवा बजार क्षेत्र तनावग्रस्त बनेको हो। आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउन्ड हवाइ फाइर गरेको छ। अवस्था सामान्य हुन नसकेपछि १३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । स्थानीयले मेयरको घरमा राखिएको गाडीमा आगजनी गरेका छन्। झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।
