• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बरहथवा घटना: जयशंकरको शव रातभर घटनास्थलमै, प्रहरीले हानेको थियो टाउकोमा गोली


  • धनकुटा खबर
  • .

काठमाडौं— सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका– ६ का ३० वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

उनको टाउकोमा गोली लागेको छ । उनको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका वरहथवा– ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिए ।
प्रदर्शनको क्रममा अर्का एक स्थानीयलाई पनि गोली लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको वडाध्यक्ष आलमले बताए ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्र मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गत असोजको निर्णय बरहथवा नगरपालिकाले उल्टाएपछि कांग्रेससहितका दलले गरेको प्रर्दशनको क्रममा घटना भएको हो । प्रदर्शनको क्रममा मेयर कल्पना कटुवालको घरमासमेत आगजनी र तोडफोड भएपछि बलप्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा स्थानीयको ढुंगामुढा प्रहारबाट ८ जना प्रहरी घाइते भएका छन् । ‘घाइतेमध्ये भिखारी यादवको अवस्था गम्भीर छ,’ डीएसपी पञ्जियारले भने, ‘उनलाई बरहथवामा प्राथमिक उपचार गरी गएराति वीरगञ्ज लगिएको थियो। वीरगञ्जबाट पनि काठमाडौं रेफर भइसकेको छ। अवस्था चिन्ताजनक छ ।’

जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कार्यरत यादवसहितको प्रहरी टोलीलाई थप फोर्सको लागि शुक्रबार दिउँसो बरहथवा लगिएको थियो ।
स्थानीयको प्रदर्शन झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले बरहथवा नगर क्षेत्रमा शुक्रबार साँझदेखि कर्फ्यु लगाएको छ । कर्फ्यु शनिबार बिहान ८ बजेसम्म जारी रहने स्थानीय प्रशासनले जनाएको छ । कर्फ्यु पछि अहिले बरहथवा क्षेत्रको अवस्था सामान्य रहेको डीएसपी पञ्जियारले बताए । -न्यूज गृह

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖