• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रामबहादुर बम्जनको घरमै जिमखाना, आश्रममा कराँते हल


  • धनकुटा खबर
  • .

काठमाडौँ । बुद्ध धर्मका अनुयायीहरुबाट पुजिने व्यक्ति हुन्, राम बहादुर बम्जन । उनलाई धेरैले ‘लिटल बुद्ध’ भनेर चिन्छन् । तर, भक्तजनबाट पूजा गरिने तिनै बम्जन अहिले प्रहरीको नियन्त्रणमा छन् । अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बाल यौन शोषण गरेको आरोप छ । सो मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन छ । जिल्ला अदालत सर्लाहीबाट जारी भएको वारेन्ट पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–६ स्थित उनी बसेको घरमा सीआईबीको टोली पुग्दा बम्जन रोटी खाँदै थिए । पुस २४ मा साँझ डिएसपी धर्मराज भण्डारी नेतृत्वको टिमले घर घेरा हालेको थाहा पाएपछि उनी चौथो तलाबाट दोस्रो तलामा ओर्लिए । त्यहाँबाट बाहिर हामफालेपछि उनलाई पक्राउ गरिएको एआईजी बज्राचार्यले जानकारी दिइन् । ‘अपरेशन ब्लू’ नाम दिएर उनलाई पक्राउ गर्न सीआईबीका २५ जना सुरक्षाकर्मी परिचालित थिए ।

ब्लेड वायरको घेरा लगाएको घरभित्र बम्जनले जिमखाना नै खडा गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘त्यहाँ उनी नियमित जिम गर्दा रहेछन् ।’ घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम भेटिएको छ ।

बम्जन कराँते पनि खेल्छन् । सर्लाहीमा मुद्दा दर्ता भएपछि सीआईबीको टोलीले सिन्धुलीमाढीस्थित उनको आश्रममा छापा मारेको थियो । छापा मार्न गएका एकजना अधिकृत भन्छन्,‘त्यहाँ कराँते हल बनाएका थिए, त्यहाँ उनले कराँते खेल्ने गरेका थिए ।’

२०७६ माघ २४ मा सर्लाही प्रहरीले ७७ जिल्लामा बम्जनलाई खोजतलास गर्न पत्राचार गरेसँगै देशभरका प्रहरीले उनको खोजी तीव्र बनाए । तर, उनी ४ वर्षसम्म प्रहरीको आँखा छल्न सफल भएका हुन् ।

बाराको निजगढ नगरपालिका–१२ स्थित रतनपुरीका स्थानीय बम्जनको वास्तविक नाम रामलाल बम्जन हो । ३४ वर्षीय बम्जनले ५ कक्षासम्म अध्ययन गरेका छन् । उनी टोयोटाको फर्चुनर गाडी चढ्छन् । तुलाराम भण्डारीको नाममा रहेको उनी चढ्ने प्रदेश–३–०१–०२४ च ६७२९ नम्बरको फर्चुनर प्रहरीले बरामद गरेको छ ।

बम्जनले नयाँ ल्याण्डक्रुटर जिप अर्डर गरेको एआईजी किरण ब्रज्रचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्,‘पनित महर्जनको नाममा ५ करोडमा ल्याण्ड क्रुजर जेडएक्स बुक गरेको भेटिएको छ ।’ ल्याण्डक्रुजर खरिद गर्न बम्जनले ३ करोड रुपैयाँ भुक्तानी दिएको भेटिएको छ ।

बम्जनले प्रयोग गर्ने ४ वटा मोटरसाइक प्रहरीले बरामद गरेको छ ।

१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न हात्तिगौंडा गएका हुन् । त्यसअघि ४ वर्ष भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको उनले अनुसन्धान अधिकृतहरुलाई बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘४ बर्सदेखि नेपाल र भारतको जंगलमा लुकेर बसेको उहाँले बताउनुभएको छ ।-राजेश भण्डारी/रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖