रामेछाप । ‘अस्ति देवीस्थान माथि कसैले स्याउला काटिदिएछ, साँझदेखि नै बाघ करायो, धूप हालेपछि बल्ल कराउन छाडेर हिँड्यो’, मन्थलीको तिलेचौरका खड्गबहादुर खत्रीले भन्नुभयो ।
जङ्गलको बिचमा सानो देवीको थान । पुरानै संरचना, कुनै नयाँ मन्दिर वा सजधज केही छैन, तर पनि मानिसहरूको आस्था र विश्वास त्यतिकै छ ।
मन्थली नगरपालिका–१ को तिलेचौरस्थित सिद्धठाकुर तीनकन्या देवी स्थानीयको आस्था र विश्वासको धरोहर बनेर सदियौँदेखि हृदयमा सजिएर बस्नु भएको छ तर सरोकारवालाको ध्यान देवीस्थानको संरक्षण र प्रचारप्रसार पुगेको छैन ।
सदरमुकाम मन्थली नजिकै छ सिद्धठाकुर तीनकन्या देवीस्थान । मन्थलीको मच्छेडाँडीबाट पारी सुकाजोर खोलाको माथि पाखामा रहेको देवीस्थान मन्थलीबाट मर्निङवाक गर्न जोनको लागि पनि अति उपयुक्त मानिन्छ ।
खड्गबहादुरका अनुसार सो देवीस्थानको इतिहास कति पुरानो छ भन्ने कसैलाई थाहा छैन । पुस्तौँदेखि देवस्थानमा पूजा गरिँदै आइएको छ, अहिलेका पुस्ताले पनि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।
आफूहरू सानो हुँदा गोठधुप गर्दा वा धूप हाल्दा हजुरबा, बा, काकाबाहरुले तिलेचौर सिद्धठाकुर तीनकन्या देवीलाई पुकारेको सुन्ने गरेको स्थानीय दामोदर घिमिरे बताउनुहुन्छ । त्यसैले सो देवीस्थान निक्कै पुरानो शक्ति पीठको रूपमा रहेको घिमिरेको अनुमान छ ।
खड्गबहादुर पनि सो देवीस्थानलाई स्थानीयले आफ्नो आस्थाको केन्द्रको रूपमा लिएको बताउनुहुन्छ । केही आपत् पर्यो भने तीनकन्या देवीलाई स्थानीयले पुकार्ने उहाँले बताउनुभयो । ‘देवीलाई पुकारेर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास छ’, उहाँले भन्नुभयो ।
देवीस्थानको वरिपरि कसैले विघ्न गर्यो भने अहिले पनि रातभरि बाघ कराएर दुःख दिने खत्री बताउनुहुन्छ । देवीस्थान नजिकै घर भएका खत्रीले त्यसो भयो भने आगोमा धूप हालेर देवी पुकार्ने गरिएको बताउनुभयो । त्यति गरेपछि बाघ शान्त भएर हिँड्ने उहाँले सुनाउनुभयो ।
सो देवस्थानमा स्थानीयले हरेक वर्ष सामूहिक रूपमा पाठी पूजा गर्छन् । देवस्थानमा दर्शन गर्न जाने र परेवा पूजा गर्ने पनि बाक्लै हुन्छन् । तर त्यहाँ पूजा गरेको प्रसादी घर लैजानु हुँदैन भन्ने मान्यता रहेको छ । पूजाको प्रसादी त्यहीँ पकाएर खाई भाँडा माझेर मात्र घर लिएर जानुपर्छ भन्ने भनाइ छ ।
देवीस्थानलाई सानो ढुङ्गाले दुई भागमा विभाजन गरिएको छ । एक भागमा तीन कन्याका तीनवटा सिला छन् । अर्को भागमा सिद्ध ठाकुरका शिला छन् । ‘देवीको शिलामा बली चलाइन्छ तर सिद्ध ठाकुरकोमा चल्दैन, पहिला देवीको पूजा गरेर त्यसपछि सिद्ध ठाकुरको पूजा गरिन्छ’, खत्रीले भन्नुभयो ।
देवीस्थानको तल बारम्बार पहिरो गएर देवीस्थान भएको ठाउँ साँघुरो हुँदै गएको छ । स्थानीयले संरक्षणको लागि केही प्रयत्न गरेका भए पनि उनीहरूको प्रयत्नले मात्र पुगेको छैन । ‘देवस्थानमा एउटा मन्दिर बनाउने कुरा चलिरहेको छ, तर बनाउन सकिएको छैन’, खत्रीले भन्नुभयो ।
