• Friday 9th of October 2026

नेपालका ओपनिङ ब्याटर विपिन भन्छन्- अफगानिस्तानसँगको खेलमा ब्याटिङ र फिल्डिङमा विशेष ध्यान दिन्छौं


  • धनकुटा खबर
  • .

दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दुई खेलमा हार बेहोरिसकेको छ।

समूह ‘डी’ मा आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्‍यो।
पाकिस्तानविरूद्ध नेपालले पहिले ब्याटिङ गर्दै १९७ रन जोडेको थियो। १९८ रनको पाकिस्तानले पूरा गर्न ५ विकेट गुमायो भने ४७.४ ओभर खेल्यो।

खेलमा नेपालका लागि सबैभन्दा बढी रन ओपनिङ ब्याटर विपिन रावलले जोडे। उनले ६८ बल खेलेर ४ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे।

खेलपछि आइसिसीसँग कुरा गर्दै विपिनले ब्याटिङका कारण नेपालले पाकिस्तानसँगको खेल हार्न परेको प्रतिक्रिया दिएका छन्।

‘हामीले मिडल अर्डर ब्याटिङमा राम्रो गर्न सक्नु पर्थ्यो। हामीले ४०-५० रन कम बनायौं। पाकिस्तान ब्याटिङमा राम्रो टिम हो। उनीहरुका लागि हाम्रो लक्ष्य कम भयो,’ उनले भने, ‘४०-५० रन बढी बनाएको भए हाम्रा बलरले अन्तिमसम्म जितका लागि लड्ने थिए।’

एक-एक खेलमा केन्द्रित भएर अघि बढेको बताउँदै रावलले प्रतियोगितामा राम्रो क्रिकेट खेल्ने नेपालको योजना रहेको बताए।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ। सो खेलमा जित निकालेको अवस्थामा नेपाल सुपर-६ मा पुग्नेछ। आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। सुपर-६ को समूह ए र बीमा ६-६ टिम गरी कुल १२ टिम पुग्नेछन्। दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्।

अफगानिस्तानविरुद्धको खेललाई लिएर आफूहरुमा सकारात्मक भएको रावलले बताए।

‘हामी अफगानिस्तानसँगको खेलका लागि सकारात्मक छौं। हामी एक अर्कालाई विश्वास गर्छौं। हामी तयार छौं र अफगानिस्तानसँगको खेलमा ब्याटिङ र फिल्डिङमा विशेष ध्यान दिनेछौं,’ उनले भने।
नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल पराजित भएको थियो।

अफगानिस्तानले जारी विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डसँगको खेलमा पराजय भोगेको छ। न्युजिल्यान्डविरुद्ध ९१ रन जोडे पनि उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानले न्युजिल्यान्डको ९ विकेट लिएको थियो।
सुपर-६ ममा पुग्न अफगानिस्तानका लागि पनि नेपालविरुद्धको खेल महत्वपूर्ण रहेकाले जितका लागि खेल्ने निश्चित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖