पल्लेकेले । पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार भएको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४६ रनले पराजित गरेको छ ।
ब्याटिङको क्रममा श्रीलंकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रन मात्रै बनाउन सकेको थियो ।
श्रीलंकाका ब्याट्सम्यान पाथुम निसान्काले २१० रनको अविजित इनिङ्स खेले । उनी एकदिवसीय क्रिकेटमा श्रीलंकाका लागि सर्वाधिक स्कोर बनाउने खेलाडी बने। निसान्काले महान ब्याट्सम्यान सनथ जयसूर्या (१८९ रन) को कीर्तिमान तोडे ।
श्रीलंकाका लागि ओपनिङ गर्न आएका निसान्काले आफ्नो इनिङ्समा १३९ बलको सामना गरे । उनको ब्याटबाट २० चौका र ८ छक्का निस्केका थिए । उनले १५१.०७ को स्ट्राइक रेटमा रन बनाए।
दोस्रो इनिङ्समा मोहम्मद नाबी र अजमातुल्लाह ओमरजाइबिचको २४२ रनको साझेदारीले खेलमा रोमाञ्चकता सिर्जना गरेको छ । तर, अफगानिस्तानले खेल भने जित्न सकेन ।
