२७ माघ, काठमाडौं । २०२२ मार्च २५ मा युवा ब्याटर देव खनालले नेपाली क्रिकेट टोलीमा त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए । दुर्भाग्य पपुवा न्युगिनीविरुद्ध डेब्यूमै उनी शून्यमा आउट भएका थिए । तर अर्को दिन देवले पपुवा न्युगिनीविरुद्ध ७२ रनको इनिङ खेल्दै आफ्नो क्षमता प्रमाणित गरे ।
त्यो समय देवले नेपालका एक सर्वाधिक सफल ब्याटर ज्ञानेन्द्र मल्लको स्थान लिएका थिए । देवले खेल्ने कभर ड्राइभ सटलाई वर्तमान समयका दुई सुपरस्टार बाबर आजम र विराट कोहलीसँग पनि तुलना गर्ने गरिन्छ । त्यसपछि उनी नेपालको पहिलो रोजाइमा पर्न थाले । २०२२ जुनमा घरेलु टोली अमेरिकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
तर २०२२ जुलाईमा स्कटल्यान्ड भ्रमण नै देवको अन्तिम बन्यो । त्यसपछि सिनियर टोलीमा फर्किने अवसर पाएनन् । जुलाईमा एसीसी इमर्जिङ टिम्स एसिया कपमा उनी टोलीमा फर्किएका थिए । युएई ए सँग २४ र भारतसँग १५ रनमा आउट भएका थिए ।
