काठमाडौं,२ फागुन । एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनमा कुवेतले नेपाललाई ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रनमात्र जोड्न सक्यो । कुवेतका लागि कुनैपनि खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।
कुवेतलाई सस्तैमा रोक्नेक्रममा नेपालकी सीता रानामगरले शानदार ह्याट्रिक लिईन् । उनले १२।२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२।३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् । १२।४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।
सीतका अतिरिक्त कविता कुँवर र रुबिना बेल्बासे क्षेत्रीले समान २ विकेट लिए ।
नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
