• Saturday 28th of November 2026

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । बालकुमारीमा भएको घटनामा छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएकोले उनलाई एक मिनेट पनि मन्त्री पदमा रहने छुट नरहेको भन्दै बर्तौलाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत भनेका छन् –’एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन ।’

साथै बर्तौलाले मन्त्री ज्वालाविरुद्ध प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्ने माग गरेका छन् । उनले भनेका छन् – ‘यदि यती ठुलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापि न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन । त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ । हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ’ ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖