• Saturday 28th of November 2026

एमाले कैलालीको अधिवेशन आजदेखि,केपी ओलीले उद्घाटन गर्ने


  • धनकुटा खबर
  • .

धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आज देखि शुरु हुँदैछ । घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतीमै पार्टी नेतृत्व चयन गरिने बताइरहेका छन् । सोही प्रयास अन्तरगत एमालेले कैलालीमा पहिलोपटक नयाँ अभ्यास गरेको छ । एमालेले अधिवेशन शुरु हुनु अगावै अध्यक्षसहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई ३ फागुनमा इच्छापत्र पेश गर्न भनेको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले सोही दिन इच्छापत्र बुझाइसकेका छन् ।

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितका ३ जनाले इच्छापत्र पेश गर्दा उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गरेका छन् । एमाले कैलालीले पदाधिकारीमा आकांक्षीहरुबीच सहमती खोज्न र नभए चुनाव गरेरै भएपनि छिटोछरितो अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि उद्घाटन पूर्व नै इच्छापत्र माग गरेको बताइरहेको छ ।

एमालेले ३ गते आकांक्षीबाट इच्छापत्र मागेर ४ र ५ गते उनीहरुबीच सहमती खोज्ने जनाएको छ तर अहिलेसम्म आकांक्षीकाबीचमा सहमती भइसकेको अवस्था छैन । अध्यक्षका लागि इच्छापत्र दर्ता गरेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाबीच सहमती हुन सकेको छैन भने अन्य पदाधिकारीमा पनि उस्तै छ ।

पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले पदाधिकारीमा इच्छापत्र पेश गरेका नेताहरुबीच सहमतीको प्रयास भइरहेको बताए तर अहिलेसम्म कुनै पदमा पनि सहमती नभएको ठगुन्ना बताउँछन् ।

‘अध्यक्षका लागि दाबी पेश गर्दै इच्छापत्र दिएका तीन जनासँग बसेर छलफल गरेका छौँ । उहाँहरु तीनै जनाकाबीचमा विभिन्न ढंगले कुराकानी भएको छ,’ ठगुन्नाले भने, ‘तर कुरा मिलिसकेको अवस्था छैन । हामी अन्य पदाधिकारीका आकांक्षीबीच पनि छलफल गरिरहेका छौँ ।’
ठगुन्नाले आइतबार अधिवेशन उद्घाटनपछि समेत आकांक्षीबीच सहमतीका लागि प्रयास गरिने तर सहमती नहुने अवस्थामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने समेत बताएका छन् ।

नेताहरुकाअनुसार अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य ढुंगानाले समेत दाबी गरेको अवस्था भएका कारण सहमती हुने सम्भावना कम देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖