• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

समूह विजेता बन्दै नेपाल वाफको सेमिफाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले शनिबार राति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो ।

पराजित भएको प्यालेस्टाइन उप विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गर्‍यो । समूह चरणको अन्तिम खेलमा नेपाललाई जित दिलाउन नेपाली गोल मसिन सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दा रेखा पौडेल र गीता रानाले समान एक ÷एक गोल गरे ।

खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । ६० औँ मिनेटमा सावित्राले प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा अनमार्क रहेकी रेखाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

७९ औँ मिनेटमा रश्मी घिसिङको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा नेपालले पेनाल्टी पाएको थियो । सावित्रालाई प्यालेस्टाइन खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई गीता रानाले गोलमा परिणत गरेपछि अन्ततः नेपाल ४–० को सहज जित निकाल्दै समूह विजेता बनेको हो । नेपालले सेमिफाइनलमा लेबनानसँग खेल्दा प्यालेस्टाइनले जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖