• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

छोरी जन्मिएपछि सासु बुहारीको झगडा, अस्पतालमै शिशु छोडेर सम्पर्कविहिन


  • धनकुटा खबर
  • .

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा फागुन १२ गते बिहान ६ः३० बजे सीता देवीले शिशुलाई जन्म दिएकी थिइन् । तीन केजीकी शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

सुत्केरी व्यथा लागेपछि उनी सासूआमा बेडी देवीसँगै फागुन ११ गते बेलुका अस्पताल आएकी थिइन्। उनीहरूले ‘रानीघाट–६, वीरगञ्ज’ ठेगाना टिपाएका छन् ।

छोरी जन्मिएपछि सीतासँग बेडीले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताए । अस्पतालमै पनि परिवारजनले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ । सीताका यसअघि तीन छोरी जन्मिएका थिए ।

उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिंडेका हुन् ।

साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए तर भेटिएनन् । आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ ।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिंडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले बताइन् । “अस्पतालमा सासू र बुहारी मात्रै आएका थिए । श्रीमान् खै भन्दा कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,” थापाले भनिन्, “छोरी जन्मेपछि सासू रिसाइरहेकी थिइन् । शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन। हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैनन् ।”

शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताइन् । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए । “विस्तृत विवरण अस्पतालको रेकर्डमा छैन, रानीघाट–६ भनेर ठेगाना लेखाएका रहेछन् । दुवै जनासँग मोबाइल थिएन,” डा. साहले भने, “छोरी जन्मेका कारण नै छोडेर भागेको हुन सक्छ ।”

उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । “उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन। पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,” डीएसपी थापाले भने । उनीहरूको खोजतलास जारी रहेको उनको भनाइ छ । हिमाल खबरमा सुरेश बिडारीले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖