सर्लाही । हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका ३ मा सोमबार राति भारतीय स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका ६ बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
पूर्व पश्चिम हुलाकी सडकस्थित कौडेना गाउँपालिका ३ स्थित कौडेना र मुसैलीको बिच भागमा मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियोका चालक भने फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
