काठमाडौँ । न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोस टेलरले प्रभावशाली बलर निल वाग्नरलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिन बाध्य पारिएको आरोप लगाएका छन् । उनले समय– समयमा न्युजिल्यान्ड क्रिकेटमा अस्वभाविक गतिविधि हुने गरेको टिप्पणी पनि गरेका छन् ।
न्युजिल्यान्डका प्रभावशाली बलर निल वाग्नरले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । अस्ट्रेलियाविरुद्धको दुई टेस्टको शृंखलाका लागि घोषित किविज टोलीमा वाग्नरलाई पनि समावेश गरिएको थियो ।
तर, न्युजिल्यान्डका चयनकर्ताले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा वाग्नरलाई समावेश नगर्ने बताएपछि उनले तत्कालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । उनले सन्न्यास लिएको एक सातापछि आफ्नो समयका प्रभावशाली खेलाडी टेलरले बाग्नरलाई सन्न्यास लिन बाध्य पारिएको टिप्पणी गरेका हुन् ।
‘वाग्नरलाई अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलाका लागि टोलीमा समावेश गरिएको थियो । उनले उत्कृष्ट प्रदर्शन पनि गर्दै आएका थिए । यसका बावजुद उनलाई प्लेइङ–११ मा पारिएन । एउटा क्षमतावान खेलाडीका लागि यो गतिलो सन्देश थिएन । त्यसैले उनले तत्काल सन्न्यासको घोषणा गरे । मेरो विचारमा उनलाई सन्न्यास लिन बाध्य पार्ने परिस्थितिको सृजना गरियो,’ उनले भनेका छन् ।
दक्षिण अफ्रिकामा जन्मिएका तिब्रगतिका बलर वाग्नरले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टका लागि टोलीमा नपारिएपछि तत्काल पत्रकार सम्मेलन गरी आफू तत्काल लागू हुने गरी राष्ट्रिय टोलीबाट बाहिरिएको घोषणा गरेका थिए ।
‘हामीले वाग्नरको पत्रकार सम्मेलनलाई ध्यानले हे¥यौँ भने उनीभित्रको पिडा सहजै अनुभव गर्न सक्छौँ । न्युजिल्यान्ड क्रिकेटमा असहज परिस्थित सृजना गर्ने तत्व सक्रिय छ । त्यो हिजो पनि थियो र आज पनि छ,’ टेलरले भनेका छन् ।
३८औँ वर्ष प्रवेशको तयारीमा रहेका बायाँहाते बलर वाग्नरले न्युजिल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । वाग्नरले देशका लागि हालसम्म ६४ वटा टेस्ट खेलेका छन् ।
टेस्ट क्रिकेटको एक सय २२ पालीमा उनले २७.५७ को औसतले दुई सय ६० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३९ रन दिएर सात विकेट हो । टेस्ट क्रिकेटको ८४ पालीमा उनले कुल आठ सय ७५ रन पनि बनाएका छन् ।
उनले सन् २०१२ को जुनमा वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टेस्ट भने सन् २०२४ को फेब्रुअरीमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने समय आएजस्तो लाग्यो । मैले आफ्नो मनको कुरा सुनेर यस्तो निर्णय लिएको हुँ,’ सन्न्यास घोषणा गर्दा निकै भावुक देखिएका वाग्नरले भनेका थिए ।
