काठमाडौँ ।नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरे ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन । उनले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने माग समेत गरे । त्यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसदमा सुनाउन माग गरे ।
उनले भने –‘उनले(गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ । यो घोर आपत्तिजनक कुरा छ । उनी सहकारी सदस्य नभएको नाताले उनले लिन मिल्दैन । सहकारी पीडितहरुलाई उनले कसरी सम्बोधन गर्नुहुन्छ ? गम्भिर आशंका छ । त्यसैले म भन्छु रविजी तपाई पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाई ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ ।
अहिले बजारमा पुन र सुनको कुरा आएको छ । वर्षमान पुन आज सुनसँग जोडिनु भएको छ । सुनका आरोपित कारागारमा छन् । उनले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता गर्यो भनेर अखबारमा आइरहेको छ । उनले के के कुरा गर्नुभयो, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहान्छु ।
दश वर्ष अगाडी उनी(नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिशान दरबारमा उनी राज भइ बक्सेको छ । म चाहान्छु त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।
सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई मन्त्री स्वीकार्न आफूहरु तयार नभएको स्पष्ट पारे ।
