• Saturday 17th of October 2026

किशोर श्रेष्ठ पक्राउ परेका होइनन्, छलफलका लागि ल्याइएको हो : साइबर ब्युरो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगरिएको, छलफलका लागि कार्यालय ल्याइएको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरी टोली शुक्रबार बिहान श्रेष्ठको ललितपुरस्थित नख्खु निवास पुगेको थियो।

त्यसपछि श्रेष्ठलाई साइबर ब्युरो लगिएको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले श्रेष्ठलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन्। उनका अनुसार अहिले ब्युरोमा श्रेष्ठ र उजुरीकर्ता पन्तबीच छलफल भइरहेको छ।

यसैबीच, जनआस्था साप्ताहिकले पनि हिमेश पन्तविरुद्ध साइबर ब्युरामै उजुरी दिएको छ। पन्तले संस्थाका अध्यक्ष तथा सम्पादकविरुद्ध व्यक्तिगत बेइज्जती तथा अपमान गर्ने र समाजमा घृणा फैलाउने प्रकृतिका सामग्री फेसबुक पेजमार्फत प्रकाशन गरिरहेको आरोप लगाउँदै विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही गर्न माग गरिएको जनाइएको छ।

प्रहरी टोली आफ्नो निवासमा पुगेपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत समाचार प्रकाशन गरेकै कारण आफूलाई लिन प्रहरी आएको टिप्पणी गरेका थिए।

घटनाप्रति नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्। उनले समाचारप्रति चित्त नबुझेको अवस्थामा साइबर ब्युरोमा उजुरी हाल्ने र २४ घण्टा नबित्दै बिदाको दिन पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्।

त्यस्तै, नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पनि श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै श्रेष्ठमाथिको कारबाहीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।

पन्त र श्रेष्ठ पक्षबीच समाचार प्रकाशन तथा सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर विवाद चर्किएको यस घटनामा दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएका छन्। साइबर ब्युरोमा भइरहेको छलफलको निष्कर्ष र त्यसपछिको कानुनी प्रक्रिया भने सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖