काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा मौज्दात रहेको रकममध्ये १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ।
पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव हुन नदिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यालयलाई उपलब्ध गराइएको हो। समितिका अनुसार निर्वाचन सम्पन्न गर्ने क्रममा सङ्कलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने काम भने जारी छ।
निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा काम गरेको जनाएका छन्। उनीहरूको निःस्वार्थ योगदानका कारण बचत भएको रकम पार्टीको सङ्गठनात्मक सुदृढीकरण र नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ।
राजनीतिक तथा साङ्गठनिक अभियान सञ्चालन गर्न आर्थिक स्रोत आवश्यक पर्ने भएकाले नवनिर्वाचित नेतृत्वलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराइएको समितिको भनाइ छ।
गगनकुमार थापासहितको नवनिर्वाचित नेतृत्वलाई पार्टीका गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने हेतुले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ।
