• Monday 19th of October 2026

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा नदिए पदबाट गलहत्याउने एमालेको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं,२ चैत । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले तत्काल पद छाड्नपर्ने बताए ।

‘यो सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसक्यो । अहिले नै राजीनामा दिँदा हुन्छ । राजीनामा नदिने हो भने सत्ता पक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा देखिने छ । त्यस्तो अवस्थामा एक मिनेटमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन । त्यो भन्दा अगाडि नै सभामुखमार्फत तपाई अल्पमतमा पर्नुभयो भन्ने सूचना प्राप्त गरेसँगै राजीनामा दिनुपर्छ,’ भण्डारीले भने,

संविधान सभा सदस्य तथा कानुनविद् समेत रहेका भण्डारीले अहल्पमतमा पर्दासमेत मुख्यमन्त्री कार्की पदमै बसिरहे कानूनअनुसार आफ्नो दल अगाडि बढ्ने र उनलाई पदबाट गलहत्याने चेतावनीसमेत दिएका छन् । भण्डारीले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्‍यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नुभयो भने संविधानको सर्वोच्चता, सवोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौं ।’

केन्द्रको सत्ता समीकरण फेरिएसँगै कोशी सरकार संकटमा परेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की गत सओज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री बनेपनि एमाले सरकारमा सामेल भएको छैन् । सरकारमा नेपाली कांग्रेससहित माओवादी केनद्र र एकीकृत समाजवादी सहभागी छन् ।

कोशीमा प्रदेश सभा निर्वाचनको एक वर्षमा संविधानका सबै विकल्प प्रयाग भएर सरकार बनिसकेका छन् । कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए प्रदेश सभा भंग हुनसक्ने जोखिम बढ्दै गएको छ । संवैधानिक जटिलतालाई बुझेर नै सरकारमा सहभागी दलहरु नेकपा माओवादी र एकीकृत समाजवादीले कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

यता प्रदेश सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भने कोशीमा कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताको बैठकले तत्काल कोशी सरकार परिवर्तनको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖