• Monday 19th of October 2026

प्रधानमन्त्रीसँग गृहमन्त्री नियुक्तिको जवाफ माग्दै कांग्रेसले गर्‍यो सदन अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं। गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेसले प्रधानमन्त्री दाहालको जवाफ माग गरेको हो। बैठक सुरू हुने बित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्न समय दिएका थिए। बैठकमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्री प्रश्नबाट भागेर हिंडिरहेको भन्दै असन्तुष्टि जनाए।गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरेर प्रधानमन्त्री दाहालले दोहोरो मापदण्ड अपनाएको उनको भनाइ थियो।

देशभरका सहकारीपीडितले सहकारी सञ्चालकको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता गर्न माग गरिरहेको बताउँदै उनले गृहमन्त्री लामिछानेमाथि पनि सहकारीको रकम हिनामिनाको विषयमा छानबिन भइरहेकाले यस विषयमा प्रधानमन्त्री दाहालले संसद्मा जवाफ दिनुपर्ने बताए।

सांसद पौडेलले अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ भन्ने प्रश्न गरे। सुन तस्करी प्रकरणमा प्रहरीले राजनीतिक व्यक्तिलाई जोगाएको गृहमन्त्री लामिछानेले नै स्वीकार गरेको पौडेलले स्मरण गराए।

यस्तो अवस्थामा गृहमन्त्री लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने उनँको भनाइ थियो। त्यसपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र सरकारले पनि यसमा जवाफ दिने बताउनुभयो । बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

यस्तै बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले साढे ३३ किलो सुन प्रकरणको छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले ०७५ सालमा ईश्वर पौडेल नेतृत्वको छानबिन आयोगले बनाएको साढे ३३ किलो सुन प्रकरणको प्रतिवेदन गायब पारिएको बताउँदै संसदमा सार्वजनिक गर्न माग गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सुन तस्करी प्रकरणमा सत्तारुढ दलकै नेताहरु जोडिएको भन्दै कारबाही गर्न माग गरिन्। उनले सहकारी ठगी र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाइन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको भन्दै उनले कारबाहीको माग गरिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖