• Monday 19th of October 2026

रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको प्रमाण सुरक्षित छ :रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौं,२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्ने नेपाली कांग्रेससँगको वार्तालापको अडियो रेकर्ड सुरक्षित रहेको जनाएको छ ।

रास्वपाका उपसभापति तथा श्रम रोजगार एवं सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले आवश्यक परे आम जनतालाई सो प्रमाण उपलब्ध गराउने दाबी गरे । प्रतिनिधि सभाको बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री अर्यालले प्रधानमन्त्रीको अफर गर्दा नैतिकता नहेरेको कांग्रेसले प्रतिपक्षमा पुगेपछि बखेडा झिकेको बताए ।

‘हामीले क्याबिनेटको प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने हो । प्रधानमन्त्रीको प्रस्ताव आयो भनेर सञ्चारमाध्यमले उल्लेख गरेकै हुन्’ उनले भने, ‘यस्ता विषयमा गोपनीयता महत्त्वपूर्ण हुन्छ । स्रोत तपाईंहरूले खुलाएको भए हुन्थ्यो । टेलिफोन कन्भरसेसन रेकर्ड नै छ । आवश्यक परेर कुनै दिन निकाल्नुपरे हामी निकाल्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा सत्ता समीकरण फर्ने कसरत गरिरहँदा कांगेसले रास्वपालाई प्रधानमन्त्रीको अफर गरेर नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास गरेको थियो । तर, कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै रास्वपा प्रचण्ड नेतृत्वको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी भएको छ ।

रविसहितका नेताहरु सरकारमा सामेल भएपछि कांग्रेसले विभिन्न काण्डमा जोडिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सदनमा अवरोध गर्दै आएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले कांग्रेसले प्रधानमन्त्री अफर गरेको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका थिए । तर, बिहीबार बसेको प्रतिनिधि सभाकै बैठकमा कांग्रेस सांसद नागिना यादवलगायतले आफ्नो पार्टीमा अझैपनि प्रधानमन्त्री बनन् सक्षम व्यक्तिको खाँचो नरहेको भन्दै वाग्लेको प्रतिवाद गरेकी थिईन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖