• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साढे ३९ करोड मूल्य पाएका स्टार्कले पहिलो खेलमै खाए ५३ रन


  • धनकुटा खबर
  • .

मुम्बइ । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक मूल्य साढे ३९ करोड रुपैयाँ (२४ करोड ७५ लाख भारु)मा कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले पहिलो खेलमा खराब बलिङ गरेका छन् ।

शनिबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध स्टार्कले चार ओभरमा ५३ रन खर्चिदा विकेटविहीन बने ।

कोलकाता चार रनले विजयी भएपनि २०१५ पछि आईपीएलमा फर्किएका स्टार्कको प्रदर्शन सम्झन लायक हुन सकेन ।

जितको लागि २०९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । अन्तिम ओभरमा हैदराबादलाई जितको लागि १३ रन चाहिंदा कोलकाताका हर्षित रानाले ८ रन खर्चेर २ विकेट लिंदै जित दिलाएका थिए ।

स्टार्कले गरेका २४ बल मध्य ८ डट, ३ चौका र ४ छक्का भेट्न पुगेका थिए । दक्षिण अफ्रिकी आक्रामक ब्याटर हेनरिक क्लासेनले स्टार्कलाई १९ औं ओभरमा पहिलो, तेस्रो, चौथो र अन्तिम बलमा छक्का हानेका थिए । एकै ओभरमा चार छक्का खर्चेपछि कोलकाता समस्यामा परेको थियो । हैदराबादले अन्तिम १८ बलमा ६० रन चाहिंएको अवस्थाबाट ४ रनले हारेको थियो ।

स्टार्कले सुरुवाती २ ओभरमा २२ रन खर्चेका थिए । मयंक अग्रवालले एक र अभिषेक शर्माले दुई चौका हानेका थिए । उता अक्सनमा २० करोड ५० लाख भारु पाएका हैदराबादका कप्तान प्याट कमिन्सको प्रदर्शन मध्यम रह्यो । बलिङमा कमिन्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिएका थिए ।

कमिन्सले रमनदीप सिंहलाई ३५ रनमा क्याच आउट गराएका थिए । अन्तिम बलमा हैदराबादलाई जितको लागि पाँच रन चाहिंदा क्रिजमा आएका कमिन्स हर्षित रानाको बल डट खेल्न पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖