• Saturday 17th of October 2026

प्याजको मूल्य झन बढ्ने


  • धनकुटा खबर
  • .

भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । यसअघि गत मार्च ३१ सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध अनिश्चित कालका लागि थप गरेको हो ।

तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डीयाका अनुसार नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको हो ।

शुक्रबारको निर्णयसँगै भारतको स्थानीय मूल्य आधाभन्दा बढी घटेको उल्लेख गरिएको छ । यद्यपि भारतले लगाएको प्रतिबन्धका कारण नेपाली बजार मूल्यलाई खासै असर नगरेको कालीमाटी फलफूल तथा तरकारीबजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

उनका अनुसार प्रतिबन्धका बिचपनि भारतबाट अनौपचारीक तबरबाट निरन्तर रुपमा प्याज आयात भइरहेको छ । ‘स्वदेशी उत्पादनले दुईतीन महिना पनि धान्दैन, बाँकी भारतकै भर पर्ने हो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘कालीमाटी तरकारी बजारको कुरा गर्ने हो भने करिब ९५ प्रतिशत भारतीय प्याज नै आयात भई बिक्री हुन्छ ।’ उनले भने । समितिको तथ्यांक अनुसार चैत ८ गते ७२ हजार किलो प्याज आयात भएकोमा ९ गते १ लाख २३ हजार किलो आयात भएको छ ।

नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । यी क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुन्छ । यसबाट करिब ३ लाख टन उत्पादन हुन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖