काठमाडौँ। ठेकेदारबाट मदिरा, आइफोन र मिठाईसहितका उपहार लिएको भन्ने आरोपबारे लगानी बोर्डको कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।
कार्यालयले उक्त घटनाबारे फैलाइएको प्रचारप्रसार भ्रामक तथा तथ्यहीन रहेको दाबी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डको कार्यालयका सहसचिव एवम् प्रवक्ता भूपेन्द्र थापाले शुक्रबार जारी गरेको प्रेस नोटमा बिहीबार(२०८३ असोज २९) कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याबसहित कर्मचारीहरू महत्वपूर्ण बैठकमा रहेका बेला अनुमति र जानकारीबिना ‘एचटिपी खबर’ युट्युब च्यानलका दिवाकर साह कार्यालयमा प्रवेश गरेको उल्लेख छ।
कार्यालयका अनुसार साहले सीईओसहित कर्मचारीहरूलाई ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो खिचेर युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए।
प्रेस नोटमा कार्यालयको अनुमति र जानकारीबिना मिठाई तथा बिस्कुटसहितका टोकरीहरू कार्यालयमा ल्याइएको उल्लेख गर्दै ती सामग्री परियोजनाका प्रतिनिधिलाई जिम्मा लगाइएको दाबी गरिएको छ। उक्त घटनाबारे सत्यतथ्य बुझ्ने क्रममा परियोजनाका प्रतिनिधि बताउने व्यक्तिमार्फत ती सामग्री कार्यालयमा आएको पाइएको बोर्डको भनाइ छ।
कार्यालयले भिडियो खिच्ने क्रममा साहले क्यामेरा बन्द गरेर कर्मचारीहरूसँग छलफलसमेत गरेको जनाएको छ। सो क्रममा आफूहरूलाई जानकारी नदिई कार्यालयमा उपहार ल्याइएको रहेछ भन्ने कुरा बल्ल बुझेको भन्दै साह बाहिरिएको प्रेस नोटमा उल्लेख छ।
तर, पछि प्रसारित भिडियोमा उक्त प्रसंग समावेश नगरी मिठाई र बिस्कुटसहितको टोकरी देखाएर बोर्डका सीईओसहित कर्मचारीले ठेकेदारबाट अनुचित रूपमा उपहार लिएको भन्ने भाष्य निर्माण गरिएको कार्यालयको आरोप छ।
‘उपहार लिनेदिने कार्य स्वीकार्य छैन’
लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीका लागि यस किसिमका उपहार लिनेदिने कार्य कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, कर्मचारीहरूको मानमर्दन गर्ने, मनोबल गिराउने र बोर्डको कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
यस्ता गतिविधि नरोकिए आवश्यक कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत कार्यालयले दिएको छ।

