• Tuesday 20th of October 2026

टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने गृहकार्यमा गृहमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ चैत । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । नयाँ सत्ता समीकरण बनेर गृहमन्त्रीको रुपमा रास्वपाका सभापति रवि लामिछाने आएपछि टिकटकको प्रतिबन्ध फुकुवा गर्न लागिएको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार लामिछानेले आज भोलिभित्रमै टिकटक फकुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी गरेका छन् । मन्त्रिपरिषद्को बैठक बिहीबारका लागि बोलाईएको छ । सोही बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने स्रोतको भनाई छ ।

सरकारले गत कार्तिक २७ गते सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

टिकटक चिनियाँ प्रविधि कम्पनी बाइटड्यान्सको स्वामित्वमा छ। विश्वभरि लोकप्रिय बनेको उक्त डिजिटल प्ल्याटफर्मले नेपालमा प्रतिबन्ध फुकुवा गराउन प्रयास गरिरहेको छ।

सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत रिट परेको थियो । अधिवक्त भद्रप्रसाद नेपालसहितले सर्वोच्चमा दायर गरेको सो रिटमाथि न्यायाधीश विनोद शर्माको एकल इजलासले सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । हालपनि सो रिट सर्वोच्चमा विचाराधीन रहेको छ ।

टिकटक प्रतिबन्ध भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । रास्वपाका सभापति लामिछानेसहितका नेताहरुले टिकटकमाथिको प्रतिबन्ध हटाउन आवाज उठाउँदै आएका छन् । युवा पुस्तामा अत्यन्तै लोकप्रिय मानिएको टिकटक प्रतिबन्ध लगाएर सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा कुण्ठित गर्न खाजेको भन्दै आलोचना भएको हो ।

मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको २४ घण्टाभित्र २२ वटा इन्टरनेट सेवा प्रदायकले टिकटकमाथि प्रतिबन्ध लगाएको र त्यसबाट करिब ८० प्रतिशत इन्टरनेट प्रयोगकर्तामा टिकटकको पहुँच र प्रयोगमा रोक लगाउन सकिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको थियो।

तर, कतिपय इन्टरनेट प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक प्रयोग गर्न थालेपछि प्राधिकरणले जथाभावी भीपीएन प्रयोग गर्दा गोपनीयता भङ्ग हुन सक्ने, निजी डेटा चोरी हुन सक्ने, अकाउन्टहरू ह्याक हुन सक्ने जस्ता जोखिम रहेको भन्दै सूचना सम्प्रेषित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖