• Thursday 22nd of October 2026

माधव नेपाल सरकारबाट ब्याक नहुनेमा माओवादी ढुक्क


  • धनकुटा खबर
  • .

काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सत्ता समीकरण पूरै अवधि चल्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले त्रिशंखु संसद्का कारण सरकार बनाउने र गिराउने खेल भइरहने भएपनि वर्तमान सरकार पूरै अवधि अगाडि जाने बताएका हुन् ।

‘त्रिशंखु संसद्का कारण त्यस्तो खेलहरु चलिरहने प्रवृत्ति देखिएको भएता पनि अहिले त्यस्तो संकट छ भन्ने मलाई लाग्दैन,’– महासचिव गुरुङले भने ।

वर्तमान सरकारका मुख्य एजेण्डा राष्ट्रिय स्वाधीनताको रक्षा, डेमोक्रेशीको रक्षा, सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धि रहेको उनले बताए । यी मुद्दाहरुमा एकीकृत समाजवादीको कुनै विमती र विचलन नदेखिएकाले सरकारबाट ब्याक नहुनेमा आफूहरु ढुक्क रहेको बताए ।

‘नीति कार्यक्रममा र अहिले उठाइएको एजेण्डाहरुमा प्रतिवद्ध भएर नै लागिरहनु भएको देखिन्छ । उहाँहरु (एकीकृत समाजवादी) ले सरकार छोड्नुहोला, सरकारबाट ब्याक हुनुहोला जस्तो त लाग्दैन ।’ उनले भने, ‘बाहिरफेर जे जस्ता अभिव्यक्ति दिनुभएको भएता पनि विचार र नीतिका हिसाबले पनि ब्याक हुने सम्भावना कमै देख्छु ।’

वर्तमान सत्ता समीकरणका घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय सरकारका गतिविधिलाई लिएर असन्तुष्टि जनाइरहँदा आशंका उत्पन्न भइरहेको छ । माधव नेपालको असन्तुष्टि र कांग्रेसको सक्रियताका कारण वर्तमान सत्ता समीकरणमा रहेका दलबीच अविश्वास र आशंकाको वातावरण बनेको हो । कांग्रेसका नेताहरुले एमालेसँग पनि सत्ता समीकरण फेरबदलको प्रस्ताव गरेका छन् । उनीहरु पछिल्लो समय सरकार परिवर्तनको सबै सम्भावनाको प्रयोग गर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖