• Thursday 22nd of October 2026

मेयर बालेनलाई ओलीले भने– सुकुम्वासीका छाप्रा भत्काउन डोजर नचलाउनुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीको उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रममा उनले सुकुम्वासी बस्ती हटाउन जे पनि गर्न नमिल्ने बताए ।

“लोकतन्त्रमा जेसुकै गर्न मिल्दैन, व्यवस्थापन गर्नुपर्छ । समस्या समाधान गर्नुपर्छ,” उनले भने ।उनले आफू प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्या समाधानका निम्ति आयोग बनाएर समाधानको विन्दुमा पुग्दा सरकार ढालिएको स्मरण गरे । अहिले त्यसलाई अघि बढाउन खोज्दा कर्मचारीतन्त्रका केही व्यक्ति बाधक बनेको उनले आरोप लगाए ।

“अहिले सरकारमा आयौँ, अघि बढाउन खोज्यौँ । कर्मचारीतन्त्रमा रहेका केही व्यक्तिहरू त्यसको बाधक बनेर उभिन खोज्दै छन्,” ओलीले भने, “अदालतले राम्ररी विषयको अध्ययन नगरी कतिपय प्रश्नमा फैसला गरिदिने अवस्था देखिन्छ ।”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै उनले सुकुम्वासीका छाप्रा भत्काउन डोजर नचलाउन आग्रह गरे । “सुकुम्वासीको प्लास्टिकका छाप्रा भत्काउन डोजर लिएर जानुपर्छ ? डोजर गरिबका छोराले चलाउने हो, तिनलाई आफ्नैविरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिबकै छाप्राबस्ती भत्काउन नलगाउनुुस्,” उनले भने ।

उनले काठमाडौं उपत्यकमा ४८ सय सुकुम्वासी परिवार भएकाले योजनाबद्ध ढंगले आवासको समस्या समाधान गर्नुपर्ने बताए । सुकुम्वासीमाथि ज्यादती नगर्न ओलीले आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖