आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइको कार्यक्रममा पूर्वकप्तान सन्दीप लामिछाने पनि सहभागी भएका छन् ।
काठमाडौंका एक पाँचतारे होटलमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा सन्दीप सहभागी भएका हुन् ।
कार्यक्रममा टी–२० श्रृंखला खेल्न नेपालमै रहेको वेस्ट इन्डिज ‘ए’का खेलाडीहरू पनि सहभागी थिए । सन्दीपले नेपाली टोलीका सदस्यसँगै वेस्ट इन्डिजका खेलाडीसँग पनि अंकमाल गरेका थिए ।
साथै उनले नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै पूर्वकप्तान पारस खड्कासँग पनि अंकमाल गरेका थिए ।
क्यानले बुधबार टी–२० विश्वकप खेल्न १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । बलात्कार मुद्दा खेपिरहेका सन्दीप भने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् ।
जिल्ला अदालतले सुनाएको फैसलाविरुद्धले उनले गरेको पुनरावेदन उच्च अदालतमा थाँती रहेको छ । यही वैशाख २३ का लागि पेशी तोकिएको छ ।
नेपाल अहिले अमेरिका र वेस्ट इन्डिजमा हुने जुन १ देखि शुरू हुने टी–२० विश्वकपको तयारीमा छ ।
