वीरगञ्ज । नेकपा एमाले पर्साको उपाध्यक्षसहित पदाधिकारी चयनका लागि शुक्रबार हुने भनिएको निर्वाचनमा विवाद भई कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।
निर्वाचन कमिटीले जबरजस्ती निर्वाचन गराउन खोजेपछि वडा नम्बर २० का वडा अध्यक्ष समेत रहेका सह सचिवका उम्मेदवार रामकिसोर सिंह परागले रोक्न खोज्दा उनी माथि आक्रमण भएको थियो ।
शर्माका अनुसार घाइते सिंहको नाकमा चोटपकट लागेको, जसकारण नाक फुटेको छ । घाइते सिंह नेशनल मेडिकल कलेजमा उपचार पश्चात उनी अहिले घर फर्केका छन ।
एमाले पर्साको शुक्रबार हुने भनिएको निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिको कोठामा तालाबन्दी गरेका थिए ।
त्यसका बाबजुद निर्वाचन समितिले जबरजस्ती मतदान गराउन खोजेपछि त्यसको प्रतिवादमा उत्रिदा अर्काे पक्षले जबरजस्ति गर्न खोजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको सचिव पदका उम्मेदवार नवराज शर्माले बताए ।
अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको शर्माले बताए । इतर पक्षका अन्य नेताहरुमाथिपनि हातपात भएको उनले बताए ।
यता अध्यक्ष शर्मा पक्षकाले भने निर्वाचन समितिले नियमसंगत प्रकृया पुरा गरेर निर्वाचन गराउन खोज्दा इतर पक्षका केहि कार्यकर्ताले निर्वाचन समितिको कोठामा पसेर जबरजस्ति तोडफोड गर्न थालेपछि त्यसको प्रतवादमा उत्रिदा कार्यकर्ताहरुबिच हानाहान भएको बताए ।
