• Friday 23rd of October 2026

अब माधव नेपालको पार्टी फुट्ने शंकर पोख्रेलको संकेत


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले उपेन्द्र यादवको पार्टी फुटाएको भनेर आफूहरुमाथि लगाएको आरोपमा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले पार्टी नेतृत्वले गलत कदम लिन लागेपछि सो दलका सांसदहरुले विद्रोह गरेको दाबी गरेका हुन् ।

ताप्लेजुङमा आज (मंगलबार) आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । उपेन्द्र पक्षधरले आफूहरुको पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले फुटाएको भनेर आरोप लगाउन सुरु गरेपछि पोखरेलको यस्तो स्पष्टीकरण आएको हो ।

सो क्रममा उनले उपेन्द्रको मात्रै नभएर अब माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीका सांसदहरुले पनि विद्रोह गर्ने सनसनीपूर्ण खुलासा गरेका छन् । उनले भने,‘अहिले पनि तपाईंहरुले देख्नुभएको छ एकीकृत समाजवादीका नेता मलाई प्रधानमन्त्री बनाउनुपर्छ म जसरी भएपनि प्रधानमन्त्री बन्दछु, म प्रधानमन्त्री बन्छु भनेर मान्छेलाई चिन्ता भएको छ, भनेर भन्दै हिँड्नुभएको छ। नेपालको राजनीतिमा १० सीट भएकाले प्रधानमन्त्री बन्न खोज्नु कत्तिको लोकतान्त्रिक हुन्छ भन्ने कुरा त्यही पार्टीका सांसदले पनि मूल्यांकन गरेका होलान् ।’

उनले माधव नेपालको पार्टीभित्र पनि असन्तुष्टिले आकार लिएको भन्दै जुनसुकै बेला विस्फोट हुनसक्ने संकेत गरे । उनले भने,‘पार्टी नेतृत्वले गलत नीति लियो भने विद्रोहको जोखिम जहिलेपनि रहन्छ भन्नेकुरा नेतृत्वले बुझ्न जरुरी हुन्छ। त्यो एकीकृत समाजवादीको हकमा पनि लागू हुन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖